खाेज्नुहाेस

कैलाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने, सर्वसम्मत नेतृत्व चयनमा जोड

Image

धनगढी – नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन आगामी मंसिर १ गते धनगढीमा हुने भएको छ। बिहीबार धनगढीमा बसेको जिल्लाका पालिका सभापति, क्षेत्रीय सभापति तथा उपलब्ध नेताहरूको बैठकले अधिवेशनको मिति तय गरेको हो।

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन मूल समितिका संयोजक खेमराज डगौरा थारुको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख अतिथिका रूपमा सहभागी थिए। बैठकमा सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, कैलाली जिल्ला सभापति नारायणदत्त भट्टलगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

attariya hospital
navjiwan hospital

बैठकले जिल्ला अधिवेशनलाई एकता, सहमति र सहकार्यको आधारमा सम्पन्न गर्ने विषयमा साझा धारणा बनाएको छ। अधिवेशनमार्फत आपसी मतभेदलाई किनारा लगाउँदै सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति गठन गर्ने विषयमा नेताहरू एकमत भएको केन्द्रीय सदस्य नृपबहादुर वडले जानकारी दिए।

उनका अनुसार पार्टीभित्रको एकता सुदृढ गर्दै सहमतिका आधारमा नेतृत्व चयन गर्नु अहिलेको आवश्यकता हो। अधिवेशनलाई गुटगत प्रतिस्पर्धाभन्दा माथि उठाएर संगठनलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्ने विषयमा बैठकमा छलफल भएको छ।

मंसिर १ गते हुने जिल्ला अधिवेशनले कैलाली कांग्रेसको आगामी संगठनात्मक दिशा र नेतृत्व तय गर्ने भएकाले यसलाई सहमति र एकताको सन्देश दिने अधिवेशनका रूपमा सम्पन्न गर्ने नेताहरुले बताएका छन् ।