खाेज्नुहाेस

पुराना र नयाँ दल दुवै सच्चिन जरुरी

Image

नेपालको राजनीतिक परिदृश्य परिवर्तनको चरणमा छ । लामो समयदेखि सक्रिय पुराना राजनीतिक दलहरूका साथै पछिल्ला वर्षहरूमा उदाएका नयाँ दलहरू पनि अब जनताको कडा मूल्याङ्कनको घेरामा छन् । जेन जी आन्दोलनपछि हुन लागेको निर्वाचनले देशको नयाँ भविष्य तय गर्ने कुरामा दुई मत छैन । तर विगतको जस्तै प्रणाली दोहोरीए जनताले पुनः जेन जी आन्दोलनको अवस्थालाई दोहो¥याउन सक्ने अवस्था आउन सक्छ ।

आउनै लागेको प्रतिनिधि सभा निर्वाचनले दुवैथरी दलका लागि आफैंलाई प्रमाणित गर्ने महत्वपूर्ण अवसर दिएको छ । पुराना दलहरूको योगदान ऐतिहासिक रूपमा महत्वपूर्ण छ । तर सत्ता सञ्चालनको लामो अनुभव हुँदाहुँदै पनि जनआकांक्षाअनुसार सुशासन, आर्थिक सुधार र सेवा प्रवाहमा अपेक्षित सफलता देखिन सकेन । आन्तरिक लोकतन्त्र कमजोर हुनु, नेतृत्व पुस्तान्तरण नहुनु र भ्रष्टाचारका आरोपले उनीहरूप्रति जनविश्वास खस्किएको छ । अब विगतको गौरवमा सीमित रहेर राजनीति अघि बढ्न सकिँदैन ।

attariya hospital
navjiwan hospital

उता, परिवर्तनको आशा बोकेर उदाएका नयाँ दलहरूप्रति जनआकर्षण बढ्दो छ । तर उनीहरू पनि केवल आलोचना र असन्तोषको राजनीति मै सीमित हुन थाले जनअपेक्षा पूरा हुन सक्दैन । स्पष्ट वैचारिक आधार, दीर्घकालीन भिजन र व्यवहारिक कार्ययोजना बिना सत्ता र लोकप्रियता दुवै टिकाउन कठिन हुन्छ । अनुभवको कमी, आन्तरिक व्यवस्थापन र जिम्मेवारी वहन गर्ने क्षमतामा नयाँ दलहरूले पनि आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पुराना र नयाँ दुवै दलले घोषणामुखी राजनीति त्यागेर ठोस योजना प्रस्तुत गर्न जरुरी छ । रोजगारी, आर्थिक आत्मनिर्भरता, शिक्षा–स्वास्थ्य सुधार, कृषि र औद्योगिक विकास तथा सुशासनका विषयमा विश्वसनीय प्रतिबद्धता आवश्यक छ । उम्मेदवार चयनमा इमानदारी, क्षमता र जनसम्बन्धलाई प्राथमिकता दिन सके मात्र जनविश्वास प्राप्त हुन सक्छ ।

अन्ततः लोकतन्त्रमा विकल्प सधैं खुला हुन्छ । पुराना दल सुध्रिएर प्रस्तुत हुन नसके र नयाँ दल परिपक्व बन्न असफल भए भने जनताले फरक निर्णय गर्न सक्छन् । जनताको आकांक्षा र चाहना बमोजिम काम गर्न सके अहिलेको समयमा देशको नेतृत्व गर्ने दलहरुले अवश्य पनि अवको लामो समयसम्म देशको नेतृत्वतहमा अवश्य पनि रहनेछ । त्यसैले आउँदो प्रतिनिधि सभा निर्वाचन दुवै प्रकारका दलहरुका लागि परीक्षाको कडीका रुपमा देखिनेछ । सो परिक्षामा उत्कृष्ट हुन सक्ने दल नै अग्रपंतीमा रहनेछ ।