अत्तरिया – कैलालीको अत्तरिया बसले किचेर महिलाको मृत्यु भएको घटनाको दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ऐन महरले बस पछाडि गरेर महिलाको मृत्यु भएको भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन ।

उनले बझाङको मष्टा गाउँपालिका – ६ की सिन्की बोहरा अत्तरियामा सानो व्यवसाय गरेर जीविको पार्जन गर्दै आएकोमा बसले ठक्कर दिएर लडेपछि पुनः बस पछाडि गरेर घटनास्थलमै मृत्यु भएको बताए ।
उनले भने ‘बसले ठक्कर दिएर वहाँ लड्नुभयो । खुट्टा भाँचिएर घाइते हुनुभयो । त्यो गाडी पछाडि फर्कियो । पछाडि फर्केपछि घटनास्थलमै मृत्यु भयो ।’ उनले घटनापछि मृतकका परिवार, आफन्त, स्थानीय जम्मा भएर विरोध गर्दा प्रहरीले गाडीलाई कारबाही गर्नुको सट्टा सब त्यहाँबाट जबरजस्ती उठाएर लगेको बताए । उनले न्याय माग्दा श्रीमानमाथि लाठी प्रहार गरेर घाइते बनाइएको बताए ।

उनले यो गम्भीर घटना भएकाले दोषीलाई कडा कारबाही गर्न माग गरे । उनले सार्वजनिक यातायातको अराजक शैलीमाथि नियन्त्रण गर्नुपर्ने बताए ।
आइतबार हाल कैलालीको गोदावरी नगरपालिका – १ मा बस्दै आएकी सिन्की बोहरालाई महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ ख ९५६ नम्बरको बसले ठक्कर दिएको थियो । उनी बसपार्कमा पानी, भुजा बेच्दै आएकी थिइन ।
दुर्घटनापछि स्थानीय र आफन्तले बस चालकलाई कडा कारबाहीको माग गर्दै आइतबार साँझ अत्तरिया बजारमा विरोध समेत गरेका थिए । हाल मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दोषीलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिका लागि सोमबार पनि इलाका प्रहरी कार्यालय मालाखेतीमा छलफल भए पनि सहमति भने जुट्न सकेको छैन । इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हीरा महराले छलफलमा सहमति नभए पनि मंगलबार बिहानका लागि पुनः छलफलमा बोलाइएको बताए ।

















