अत्तरिया– कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीकी ५२ वर्षीय जालिना देवी चौधरी मृत्यु प्रकरणका आरोपितहरु धरौटीमा छुटेपछि पीडित पक्षले विरोध जनाएको छ । आईतबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित पक्षले आरोपितहरुलाई आफूहरुको जानकारी बिनै धरौटीमा छोडिएको भन्दै विरोध जनाएको हो । उनीहरुले सानो विषयलाई लिएर कुनै व्यक्तिको ज्यानै जाने गरी गरिएको कुटपिटका आरोपीहरुलाई पीडित पक्षको जानकारी बिनै धरौटीमा छोडिनु न्यायसंगत नभएको बताएका छन् । ‘नुन र चामल पातमा राखेर उहाँहरुको घरमा राखिदिनुभयो’ मृतक चौधरीकी आफन्त माया चौधरीले भनिन् ‘यो रुढिबादी परम्परामा गएर बोक्सीको आरोप लगाएर मान्छेलाई ज्यानै जाने गरी कुटपिट गरिएको छ, यो कदापी स्विकार्य हुदैन ।’ उनले पातमा केही सामान राखेकै भरमा कुटपिट गरिएको बताईन् । उनले परिवार, समाज र प्रशासन हुँदा हुदै पनि एउटी महिलामाथी बोक्सीको आरोप लगाएर ज्यानै जाने गरी हातपात गरिएको बताईन ।
प्रशासन र अदालतले पनि पीडित पक्षलाई अझ पिडा दिने काम गरेको उनको भनाई छ । उनले पीडित पक्षले मृतकको अन्तिम कार्य गर्दै गर्दा सम्म आरोपितहरुलाई अदालतले धरौटीमा रिहा गर्नु कानुनसम्मत् नभएको समेत जिकिर गरीन् । ‘सरकारको नियम छ, यस्तो केसमा समातिएको मान्छेलाई २५ देखी २८ दिनसम्म हिरासतमा राखिन्छ’ उनले भनिन् ‘तर त्यो नगरी १३ दिनमै धरौटीमा निकालिएको छ, प्रत्येक व्यक्तिको १ लाख १० हजार तिराएर निकालिएको भन्ने सुनिएको छ ।’ उनले आफूहरुले कुटपिट गरेको फोटो भिडियोहरु छ भन्दा पनि मुद्धा फाँटले सबुत नभएकाले धरौटीमा छोडिएको भन्ने कुरा गरेको बताईन । उनले आफूहरुलाई न्याय चाहिएकाले आरोपितहरुलाई धरौटीमा छोड्ने नभई निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताईन ।


मृतक चौधरीका मित छोरा बीरेन्द्र बहादुर सिंहले पीडित परिवारले न्याय पाउनका लागि पनि घुस खुवाउनुपर्ने अवस्था आएको भन्दै गुनासो गरे । अदालतले पीडित पक्षलाई जानकारी नै नदिएर आरोपितहरुलाई धरौटीमा छोडेकाले आफूहरुलाई सो कार्य कुनै पनि हालतमा स्विकार्य नहुने उनले बताए । उनले प्रशासन भित्र नै घुसपैठ भएको आशंका व्यक्त गरेका छन् । उनले कुटपिट गरेको सबुत प्रमाण दिँदा पनि आफूहरुले न्याय नपाएको गुनासो गरे । उनले अदालतमा नपुग्दै केस मिलाईसकिएको र मेडिकल रिपोर्ट पनि गलत बनाईएको आरोप लगाए । ‘पीडित पक्षलाई नबोलाई उहाँहरुले धरौटीमा छोड्न पाउनुहुन्न, हामीहरुलाई जानकारी नै नदिई सबैकुरा पहिले नै मिलेमतोमा तयार गरेर धरौटीमा छोडिएको छ’ उनले भने ‘हामीलाई न्याय चाहिएको हो, त्यसैले नै हामीले प्रशासन गुहारेका हौ ।’
मृतक चौधरीकी बुहारी कविता चौधरीले कुटपिट भएको सबुत प्रमाणहरु हुँदाहुदै पनि आरोपितहरुलाई धरौटीमा छोडिएको बताईन । उनले आफूहरु न्यायको खोजीमा रहेको र अब न्यायका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताईन ।
मानसिक स्वास्थ्य ठीक नभएकी जालिनादेवी चौधरीले ३२ असारको साँझ हत्या आरोपी सरिताको घर अगाडि गएर चामल फालेको र उनीहरुले आफ्नो कुभलो चित्ताउने उद्देश्य राखेर घर अगाडि चामल फालिएको भन्दै कुटपिट गरेको आरोप मृतक पक्षले लगाएको छ । मृतकका छोरा राजेन्द्र चौधरीले आमाको कुटपिट गरी हत्या गरेको आरोपमा स्थानिय सरिता थरुनीसहित ७ जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दिएका थिए । सो उजुरीको आधारमा प्रहरीले स्थानिय सातै जनालाई नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) हिरासिंह महराले जिल्ला अदालतको आदेश अनुसार उनीहरुलाई १ लाख ६० हजार धरौटीमा छाडिएको बताए । उनका अनुसार मृतकको शव परीक्षण रिर्पोटमा मृत्युुको कारण खुल्न सकेको छैन् भने भीसेरा परीक्षणका लागि नेपालगञ्ज पठाइएको छ । भीसेरा रिर्पोट प्राप्त भएपछि थप कुरा खुल्ने उनले बताए । ‘अदालतको आदेश अनुसार धरौटीमा छोडिएको हो’ डिएसपी महराले भने ‘पोष्टमार्टमबाट केही कुरा खुल्न सकेको छैन, अब भीसेरा रिपोर्टबाट उनिहरु दोषि देखिए पुनः पक्राउ गरेर कारबाहीको प्रकृया अघि बढाउछौ ।’ उनले छटनाको विषयमा थप छानबिन भैरहेको समेत बताए ।


















