सुदूरपश्चिम प्रदेशको घोषित राजधानी क्षेत्रका रूपमा चर्चामा रहेको कैलालीको गोदावरी नगरपालिकामा हालसम्म पनि एउटा बहुउद्देश्यीय खेलकुद रंगशाला निर्माण हुन सकेको छैन् । तिन तहका सरकारको दोस्रो कार्यकाल सकिनै लाग्दा समेत प्रदेशको मुटुका रुपमा हेरिन गोदावरीमा खेलकुदका लागि रंगशाला निर्माण हुन नसक्नु लज्जास्पद विषय हो ।
स्थानियस्तरमा विभिन्न समयमा गोदावरीमा रंगशाला निर्माण हुनुपर्ने माग उठ्दै आएका छन् तर आजसम्म पनि ति मागहरुको सुनुवाई कुनै पनि सरकारले गर्न सकेको अवस्था छैन । आईतबार पनि एक कार्यक्रममा रंगशालाको माग उठ्यो । त्यो माग उठ्नु स्वाभाविक र समयसापेक्ष विषय हो । खेलाडीको संख्या बढ्दै जाने तर अभ्यास र प्रतियोगिताका लागि आवश्यक पूर्वाधारको अभाव भइरहने अवस्था कुनै पनि हिसाबले दीर्घकालीन खेलकुद विकासका लागि उचित होइन ।

गोदावरी क्षेत्रमा खेलकुदप्रतिको आकर्षण बढिरहेको छ । सीमित स्रोतसाधनका बाबजुद यहाँका खेलाडीहरूले प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा उल्लेखनीय प्रदर्शन गर्दै आएका छन । तर नियमित प्रशिक्षण, दक्ष प्रशिक्षक, गुणस्तरीय मैदान, आवश्यक खेल सामग्री लगायतका आधारभूत पूर्वाधारको अभावमा धेरै प्रतिभा बीचमै हराउने जोखिम कायम छ ।

अत्तरियामा व्यवस्थित रंगशाला नहुनु अहिलेको मुख्य समस्या हो । स्थानीयस्तरमा प्रतियोगिता आयोजना गर्नेदेखि खेलाडीलाई नियमित अभ्यास गराउनेसम्मका कामका लागि उपयुक्त मैदानको अभाव देखिन्छ । यस्तो अवस्थामा खेलाडीलाई खेलमा टिकाइराख्न र नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न कठिन हुन्छ । त्यसैले गोदावरीमा बहुउद्देश्यीय रंगशाला निर्माणलाई केवल एउटा भौतिक संरचना निर्माण गर्ने योजनाका रूपमा नभई युवा तथा खेलकुद विकासको दीर्घकालीन आधारका रूपमा लिनुपर्छ ।
खेलकुदलाई अझै पनि कतिपय अवस्थामा मनोरञ्जनसँग मात्र जोडेर हेर्ने प्रवृत्ति छ । तर खेलकुद अनुशासन, स्वास्थ्य, नेतृत्व क्षमता, सामाजिक एकता र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण माध्यम हो । युवालाई लागुऔषध, हिंसा तथा अन्य विकृतिबाट टाढा राख्न पनि खेलकुदले प्रभावकारी भूमिका खेल्न सक्छ । त्यसैले खेलकुद पूर्वाधारमा गरिने लगानी तत्काल प्रतिफल खोज्ने खर्च नभई भविष्यका पुस्ताका लागि गरिने लगानी हो ।
गोदावरी केवल एउटा नगरपालिका होइन, सुदूरपश्चिमको खेलकुद विकासको महत्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । यहाँ बहुउद्देश्यीय रंगशाला निर्माण भए स्थानीय खेलाडीले नियमित अभ्यास गर्ने अवसर पाउनेछन्, प्रदेशस्तरीय तथा राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिनेछ र अत्तरियाको खेलकुद पर्यटनसमेत विस्तार हुन सक्छ ।
त्यसैले गोदावरीमा रंगशाला निर्माणको मागलाई राजनीतिक प्रतिबद्धता र बजेट घोषणाको विषयमा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्छ । खेलाडीले मैदान खोज्दै भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्दै गोदावरीमा व्यवस्थीत रंगशाला निर्माण गर्ने कुरामा पहलकदमी गर्न आवश्यक छ ।


















