बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयको ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो ।
उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट बञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिइन ।


यसका लागि १० वटै स्थानीय तहलाई शारीरिक अशक्तता तथा अपाङ्गता भएका नागरिकको विवरण सङ्कलन गर्न भनिएको र सम्बन्धित पालिकासँगको समन्वय र सहकार्यमा घरमै नागरिकता प्रदान गरिने उनको भनाइ छ ।
यसबाट विशेषगरी हिँडडुल गर्न कठिनाइ भएका, शारीरिक रूपमा अशक्त तथा प्रशासन कार्यालयसम्म पुग्न असहज हुने नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
नागरिकता प्राप्त गर्न कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएकाले कार्यक्रमले अशक्त तथा अपाङ्गता भएका नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सहज बनाउन सहयोग पुग्ने प्रजिअ अर्यालले बताइन् ।














