खाेज्नुहाेस

गोदावरी धामको गरिमा जोगाऔैँ

Image

कैलालीमा अवस्थीत गोदावरी धाम सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । २०७२ सालमा महाकुम्भ मेला आयोजना भएपछि गोदावरी धामको पहिचान केवल स्थानीय क्षेत्रमा मात्रै सीमित रहेन, राष्ट्रिय स्तरमै यसको चर्चा भयो । विशेषगरी माघे सङ्क्रान्तिमा लाखौँ दर्शनार्थीको आगमनले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र आर्थिक महत्वलाई अझ उजागर गरेको छ ।

तर, यति ठूलो सम्भावना बोकेको गोदावरी धाम पछिल्ला वर्षहरूमा अव्यवस्था र असमञ्जसको चपेटामा परेको छ । प्रचारप्रसारसँगै यहाँ विभिन्न समितिहरू च्याउझैँ उम्रिन थालेका छन् । मन्दिर पिच्छे समिति, समिति पिच्छे कार्यक्रम र आ–आफ्नै ढङ्गको विकास अवधारणाले गोदावरी धामलाई एउटै लक्ष्यतर्फ नभई फरक–फरक दिशातर्फ धकेलिरहेको छ । माघ १ गते लाग्ने मेलामा नै फरक–फरक समितिहरूले छुट्टाछुट्टै कार्यक्रम गर्नुले यही विभाजनलाई झल्काउँछ ।

attariya hospital
navjiwan hospital

यस्तो अवस्थाले गोदावरी धामको गरिमा मात्र होइन, दीर्घकालीन विकासमा समेत नकारात्मक असर पारिरहेको छ । बजेट आउने क्रम जारी रहे पनि समितिहरूबीच समन्वय नहुँदा अपेक्षित उपलब्धि देखिन सकेको छैन । गोदावरी धाममा दशकौँदेखि क्रियाशील साधुसन्त र महन्तहरूले समेत बारम्बार एउटै छातामुनि समेटिएको वृहत् विकास समिति आवश्यक रहेको कुरा उठाउँदै आएका छन् । वारि–पारिको द्वन्द्व, बाहिरी योजनाकारको प्रभाव र अन्धाधुन्ध खर्चका कारण गोदावरी धामको मूल आत्मा ओझेलमा पर्दै गएको गुनासो गम्भीर रूपमा लिनुपर्ने अवस्था छ ।

स्थानीय तहले पनि समग्र विकासका लागि समिति बनाउने, कार्यविधि पास गर्ने र ५४ करोड लागतको डीपीआर तयार गर्ने जस्ता प्रयास नगरेको होइन । तर ती प्रयास कागजमै सीमित हुँदा जनस्तरमा निराशा बढ्दै गएको छ । घोषणा र प्रतिबद्धताभन्दा अब कार्यान्वयनको खाँचो छ ।

गोदावरी धाम कुनै एक समिति वा समूहको सम्पत्ति होइन, यो सिंगो सुदूरपश्चिमको धार्मिक धरोहर हो । त्यसैले सबै सरोकारवाला समितिहरू, साधुसन्त, स्थानीय समुदाय र नगरपालिका एकै ठाउँमा उभिएर साझा दृष्टिकोण बनाउन जरुरी छ । वृहत् गोदावरी धाम विकास समिति गठन गरी एउटै गुरुयोजनाअनुसार काम अगाडि बढाउन सके मात्र यस धामको गरिमा जोगिनुका साथै धार्मिक पर्यटनको वास्तविक सम्भावना साकार हुनेछ । अब ढिलाइ होइन, एकता र समन्वयको बाटो रोज्नैपर्छ ।