खाेज्नुहाेस

कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या, श्रीमती सहित पाँच जना पक्राउ

Image

धनगढी – कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले मृतककी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय दीपक सुनारको हत्या भएको घटनामा उनकी श्रीमती यमुना सुनारसहित पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यमुनाले प्रेमी लम्कीचुहा–१० का दुर्योधन सुवर्णकारसँग मिलेर श्रीमान् दीपकको हत्या गर्ने योजना बनाएको खुलेको छ । योजनाअनुसार अन्य व्यक्तिको सहयोगमा दीपकको हत्या गरिएको प्रहरीको भनाइ छ ।

attariya hospital

घटनामा संलग्न रहेको आरोपमा यमुना सुनार, उनका प्रेमी दुर्योधन सुवर्णकार, टीकापुर–३ का रामराजेश महतो तथा कञ्चनपुरको बेलौरी नगरपालिका–८ का वीरेन्द्र राना र भीमा राना पक्राउ परेका छन् ।

navjiwan hospital

प्रहरीका अनुसार गत साउन २२ गते जानकी गाउँपालिका–१ अमरावतीस्थित जंगलमा रगत, मासुका टुक्रा, दाउ, प्लास्टिकको थैली, चप्पल, हेल्मेट र झोलाका टुक्रालगायत शंकास्पद सामग्री फेला परेको थियो । घटनास्थलबाट संकलन गरिएको रगत फरेन्सिक परीक्षण गर्दा मानिसको भएको पुष्टि भएपछि प्रहरीले बेपत्ता रहेका दीपक सुनारसँग घटनालाई जोडेर अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा साउन २१ गते यमुना र उनका प्रेमी दुर्योधन टीकापुरस्थित एक होटलमा भेटिएको र सोही क्रममा हत्या योजना बनेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । त्यसपछि अन्य सहयोगीहरू अमरावती पुगेपछि यमुनाले श्रीमान् दीपकलाई स्कुटीमा राखेर जंगलतर्फ लगेको बताइएको छ ।

प्रहरीका अनुसार जंगलमा पुगेपछि दीपकमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको र त्यसपछि शव कर्णाली नदीमा फालिएको पक्राउ परेकाहरूले बयान दिएका छन् । तर, हालसम्म दीपकको शव फेला परेको छैन ।

प्रहरीले हत्या गर्नका लागि यमुना र दुर्योधनले अन्य व्यक्तिलाई रकम दिने सहमति गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । यद्यपि, कति रकममा सहमति भएको थियो भन्ने विषय अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय टीकापुर, जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको टोलीले थप अनुसन्धान गरिरहेको छ ।