अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा वल्र्डभिजन इंटरनेशनलको सहयोगमा नगरपालिका सँगको समन्वयमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) मार्फत सञ्चालित बालबालिका लक्षित परियोजनाको अनुगमन गरिएको छ । बुधवार कृष्णपुरका १, २, ४, ७ र ९ मा सञ्चालित वाल स्पोन्सरसिप, समावेशी गुणस्तरीय शिक्षा र किशोरी परियोजनाको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा वडा नम्बर १ लागि बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न भएका कामको बारेमा छलफल भएको थियो । नगर उपप्रमुख द्रोपती रानाको प्रमुख अतिथियतामा भएको छलफलमा कार्यवाहक वडाध्यक्ष मदन बहादुर थापाले अध्यक्षता गरेका थिए । कार्यक्रममा बाल मैत्री वडा घोषणाका लागि धेरै काम भए पनि वडामा व्याप्त छाउपडी प्रथाका कारण समस्या भएको भन्दै त्यसलाई हटाउन सबै लाग्नुपर्नेमा जोड दिइएको थियो । उपप्रमुख रानाले छाउपडी प्रथाको अन्त्य गरेर वडालाई यसै वर्ष बालमैत्री स्थानीय शासन वडा घोषणा गरिने बताइन । उनले पालिका भरीमा नगरपालिकाले संघ संस्थाको सहयोगमा बालबालिकाका क्षेत्रमा धेरै काम भइरहेको बताइन् ।


कार्यवाहक वडाध्यक्ष थापाले थुप्रै चुनौतीका बिच वडालाई बाल मैत्री वडा घोषणा गर्ने अन्तिम चरणमा पुगेको बताए । उनले छाउपडी प्रथा धेरै कम भइसकेको बताउँदै वडामा हाल १५ वटा मात्रै छाउगोठ रहेको बताए । उनले वडामा वल्र्डभिजन एनएनएसडब्लुएका कार्यक्रम लागू भएपछि धेरै सुधार भएको बताए ।
वर्ड भिजनका मिल अधिकृत मिठ्ठु हुड्केले बाल मैत्री वडा घोषणा गर्न थुप्रै चुनौती भए पनि सचेतनाका मार्फत यसको अन्त्य गर्न सकिने बताए । उनले आगामी दिनमा सचेतनाका कार्यक्रममा जोड दिएर छाउ गोठ हटाउनु पर्ने बताए ।
बाल सञ्जाल कृष्णपुरका सदस्य वासुदेव पाण्डेयले परियोजना मार्फत बाल मैत्री वडाका लागि आवश्यक सूचकको बारेमा जानकारी भएको बताउँदै हाल बालबालिकाहरू आफ्ना अधिकारका बारेमा धेरै सचेत भएको बताए । उनले वडामा २३४ जना बालबालिका हाल सञ्जालमा आबद्ध भएको बताए ।
अनुगमनका क्रममा कृष्णपुर नगरपालिका १ मा बोल्न र हिँडडुल गर्न नसक्ने ललिता देवी मिश्रकी छोरी ८ वर्षीय राधिका मिश्रको अवस्थाका बारेमा जानकारी लिइएको थियो ।

७ महिना देखि बोल्न र हिँडडुल गर्न नसकेकी उनलाई परियोजना मार्फत सहयोग गरिएको मिल अधिकृत हुड्केले बताए । उनले राधिकाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिन अवलोकन गरिएको बताए ।
सो क्रममा कृष्णपुर नगरपालिका २ वाणीमा रहेको सिद्ध नाथ बालज्योती आधारभूत विद्यालयमा स्थापना गरिएको करेसाबारीको अवलोकन गरिएको थियो । विद्यालयमा बाल खाजाका लागि स्वच्छ तरकारी उत्पादन गर्न र बालबालिकालाई तरकारी खेती बारे जानकारी दिन सो कार्यक्रम सञ्चालन गरिएको मिल अधिकृत हुड्केले बताए ।


विद्यालयका प्रधानाध्यापक दीपक सिंह भण्डारीले परियोजनाले विद्यालयमा टलेन हाउ निर्माण गर्न सहयोग गरेपछि करेसाबारीमा तरकारी उत्पादन गर्न सहज भएको बताए ।
अनुगमनका क्रममा बाल कल्याण आधारभूत विद्यालयमा सञ्चालित रूपान्तरण कक्षाको पनि अवलोकन गरिएको थियो । सो क्रममा विद्यालयमा रूपान्तरण कक्षामा सहभागी विद्यार्थीहरूले सिकेका कुराको बारेमा छलफल गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक गीता बोहराले रूपान्तरण कक्षाले बालबालिकाको बोल्ने क्षमतामा विकास भएको बताइन् ।

यस्तै संस्थाले नगरपालिकाको वडा नं. ९ पिपरियामा रहेको सरस्वती आधारभुत विद्यालयमा निर्माण गरेको २ कोठे पक्की भवनको अनुगमन गरिएको थियो ।
विद्यालयको आवश्यकतालाई ध्यानमा राखि पाठशाला परियोजना अन्तरगत सो २ कोठे पक्कि भवन निर्माण गरिएको संस्थाले जनाएको छ । संस्थाको सहयोगमा विद्यालयमा भवन निर्माण भएपछि विद्यालयका प्रधानाध्यापक धन बहादुर नेपालीले आभार व्यक्त गरे । उनले विद्यार्थीहरुलाई कम्प्युटर ल्याबमा राखेर पढाउनुपर्ने तथा दुई अलग अलग कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले सो भवनका कारण विद्यार्थीहरुले सुरक्षित तरिकाले राम्रो सँग पढ्न पाएको बताए । उक्त भवन कर सहित ४० लाख ४६ हजार २९४ रुपैया ९४ पैसामा निर्माण गरिएको थियो ।
सोही वडाको पञ्चाधिन माविमा निर्माण गरिएका अपांगता तथा बालमैत्री शौचालय र खानेपानीको अनुगमन गरिएको थियो भने आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन गरिएको किशोरकिशोरीमैत्री कक्षाको पनि अनुगमन गरिएको थियो ।
पञ्चाधिन माविका प्रधानाध्यापक गणेशदत्त भट्टले एनएनएसडब्ल्युएको किशोरी समृद्धिका लागि किशोरी आधारभुत परियोजना (बिफोरजी) अन्तरगत विद्यालयमा सञ्चालित कार्यक्रमहरुका कारण विद्यार्थीहरुमा पढाईमा उत्सुकता जागेको बताए । उनले संस्थाको परियोजनाका कारण विद्यार्थीहरुको नतिजामा धेरै फरक आएको बताए । ‘विगत ३÷४ वर्षदेखी बिफोरजी परियोजना विद्यालयमा लागु छ, जसअन्तरगत खानेपानी, अपांग बालमैत्री शौचालय लगायतका संरचनाहरु निर्माण गरिएका छन भने शिक्षकहरुका लागि एकिकृत पाठ्यक्रममा आधारित तालिमहरु पनि सञ्चालन गरिएका थिए’ उनले भने ‘सो परियोजनाका कारण विद्यार्थीहरुमा पढाईमा उत्सुकता जागेको छ । विगतको तुलनामा विद्यार्थीहरुको राम्रो नतिजा आएको छ ।’
यस्तै आधारभुत स्वास्थ्य केन्द्रकी अनमी बिमला भट्ट जोशीले आर्थिक वर्ष २०८२/८३ देखी किशोरकिशोरीमैत्री कक्ष सञ्चालन गरिएको बताईन । उनले सो कक्षबाट किशोरकिशोरीहरुले लाभ उठाईरहेको समेत बताईन ।
‘स्कुल जाने तथा नजाने किशोरकिशोरीहरुले स्वास्थ्य सम्बन्धी परामर्श लिने तथा उपचार सेवा लिने गरेका छन्’ उनले भनिन् ‘उनिहरुले आफ्नो मनमा लागेका कुराहरु खुलेर भन्ने तथा स्वास्थ्य सम्बन्धी जानकारी लिने कार्यहरु गरिरहेका छन् ।’ उनले उक्त सेवा निरन्तर रुपमा सञ्चालन गरिनुपर्ने बताईन ।
संस्थाकै सहयोगमा आत्मनिर्भर बनेकी कृष्णपुर – ७ की किशोरी लक्ष्मी कार्कीेले आफूलाई संस्थाले आफ्नो खुट्टामा उभिन सिकाएको बताईन । विगत २ वर्षदेखी एनएनएसडब्ल्यूए को परियोजनामा सहभागी भएको बताएकी उनले संस्थाले अपांगता भएका व्यक्तिहरुलाई विभिन्न तालिमहरु दिएर आत्मनिर्भर बनाउने कार्य गरेको बताईन । संस्थाको सहयोगमा फास्ट फुडको तालिम लिएकी कार्कीले तालिम पश्चात किराना पसल तथा फास्टफुड पसल सञ्चालन गरिरहेकी छन् ।
सो पसल मार्फत आफूलाई दैनिक जिवनयापनमा सहजता ल्याएको उनको भनाई छ । उनले पसलले गर्दा जीवनमा आईपर्ने समस्याहरु धेरै हदसम्म न्यूनिकरण भएको समेत बताईन ।
कृष्णपुर नगरपालिका– ४ मा रहेको समैजी माध्यमिक विद्यालय मा पनि संस्थाले बिफोरजी परियोजना अन्तरगत अपांगता मैत्री तथा किशोरकिशोरीमैत्री शौचालय निर्माण गरेको छ । सो शौचालयका कारण बालबालिकाहरुले सहज र व्यवस्थीत रुपमा शौच गर्न पाएको विद्यालयका प्रधानाध्यापक सन्दीप ओझाले बताए । उनले विद्यालयमा विद्यार्थीहरुको चाप बढेसँगै शौचालयको समस्या सृजना भएको अवस्थामा संस्थाले गरेको सहयोग सह्रानिय भएको बताए ।
कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले संस्थाले नगरका विभिन्न वडाहरुमा गरेको कार्य एकदमै प्रभावकारी भएको बताए । बुधबार संस्थाको सहयोगमा निर्माण भएका संरचना तथा अन्य कार्यहरुको अनुगमन गरेपश्चात बोल्दै उनले एनएनएसडब्ल्यूएले विभिन्न परियोजना अन्तरगत गरेका कार्यहरु विद्यालय, किशोरकिशोरी, अपांगता मात्रै नभई बालमैत्री भएको समेत बताए । उनले आगामी दिनहरुमा पनि संस्थाले यस्तै कार्यहरुलाई प्रभावकारी रुपमा अघि बढाउने आफूले विश्वास लिएको उनले बताए ।
















