खाेज्नुहाेस

भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न अत्तरिया उद्योग वाणिज्य संघको अपिल

Image

अत्तरिया – अत्तरिया उद्योग वाणिज्य संघले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित व्यवसायीलाई आवश्यक सहयोग गर्न अपिल गरेको छ ।

संघका महासचिव गम्भीर साउँदद्धारा जारी अपिलमा भदौ १० गते बिहान करिब ९ बजे रसुवा जिल्ला र चीनको सीमाक्षेत्र केरुङतर्फबाट आएको बाढीले भोटेकोशी नदीमा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ । संघले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षित उद्धारको कामना गरेको छ ।

attariya hospital
navjiwan hospital

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा लगायत अन्य जिल्लाका उद्योगी, व्यवसायी तथा सर्वसाधारणले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै संघले विपद्को यस घडीमा प्रभावित नागरिक तथा व्यवसायीको साथमा रहेको जनाएको छ ।

संघले जोखिमयुक्त क्षेत्रका नागरिक तथा व्यवसायीलाई उच्च सतर्कता अपनाउन, नदी तथा खोलाको किनारमा पहिरोको जोखिम भएका स्थान र अन्य जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका सूचनाको पालना गरी विपद्मा परेका नागरिकको उद्धार, राहत तथा सहयोगका लागि सम्बन्धित निकाय, संघसंस्था, व्यवसायी तथा आम नागरिकलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्यमा जुट्न पनि अपिल गरेको छ ।

त्यस्तै, नेपाल सरकारले राहत कार्यका लागि प्रधानमन्त्री राहत कोष सञ्चालनमा ल्याएको जानकारी गराउँदै उक्त कोषमा समेत आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य गरिदिन अत्तरिया उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।