खाेज्नुहाेस

प्रेरणादायी गुरु र मार्गदर्शक

Image

बसन्ती बोहरा – नेपालको सामाजिक संरचना र सांस्कृतिक मूल्याङ्कनमा शिक्षकलाई सधैं अत्यन्त उच्च स्थानमा राखिएको छ । परम्परागत सोचमा गुरुलाई जीवनका मार्गदर्शक र भगवान समेत मानिन्छ, किनभने शिक्षकमाथि ज्ञान र मूल्य प्रदान गर्ने महत्वपूर्ण जिम्मेवारी हुन्छ । ‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः’ भन्ने श्लोकले पनि यसै सांस्कृतिक दृष्टिकोणलाई पुष्टि गर्छ । यसले स्पष्ट पार्छ कि शिक्षक केवल विषयगत ज्ञान दिने व्यक्ति मात्र होइनन्; उनीहरू विद्यार्थीको सोच, नैतिक मूल्य र भविष्य निर्माणमा सक्रिय भूमिका निभाउने प्रेरक गुरु हुन् । शिक्षालाई समाजको मेरुदण्ड मान्नुको वास्तविक अर्थ शिक्षकको योगदानको महत्त्व बुझिनु हो, जसले समग्र सामाजिक विकासमा स्थायी प्रभाव पार्दछ ।

सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पसका अङ्ग्रेजी विषयका आदरणीय गुरु उपप्राध्यापक डम्मर सिंह साउद सर यस दृष्टिकोणमा असल शिक्षकको प्रतिमूर्ति मानिनुहुन्छ । उहाँको शिक्षण शैली केवल विषयवस्तु प्रस्तुत गर्नेमा सीमित छैन; उहाँ विद्यार्थीको जीवन अनुभव, आलोचनात्मक सोच, र व्यक्तिगत क्षमतासँग जोडेर शिक्षा दिनुहुन्छ । यसले कक्षामा सृजनात्मक सोच, आत्मविश्वास र सक्रिय सहभागिता उत्पन्न गर्छ । उहाँको व्यक्तित्व, समर्पण र योगदानले विद्यार्थीको ज्ञान र जीवन–दृष्टिकोणमा सकारात्मक प्रभाव पार्ने मात्र नभई विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यसै आधारमा डम्मर सरलाई असल शिक्षकको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ ।

attariya hospital

पहिलो भेट र पहिलो प्रेरणा

डम्मर सरसँग मेरो पहिलो भेट क्याम्पसको पहिलो सेमेस्टरमा अङ्ग्रेजी कक्षामा भएको थियो । प्रारम्भमा मैले अङ्ग्रेजी विषयलाई अन्य धेरै साथीहरू जस्तै चुनौतीपूर्ण र जटिल ठानेकी थिएँ । तथापि, सरको शिक्षण शैलीको सरलता र प्रभावकारिताले मेरो दृष्टिकोणमा मूलभूत परिवर्तन ल्यायो । उहाँले विषयलाई केवल व्याकरण वा साहित्यमा सीमित राख्नुको सट्टा त्यसलाई विद्यार्थीको जीवन र वास्तविक अनुभवसँग सम्बन्धित गरेर पढाउनुहुन्छ । यस प्रकारको दृष्टिकोणले विषयलाई बुझ्न सजिलो बनाउँछ र विद्यार्थीको मनमा रुचि तथा सक्रिय सहभागिता उत्पन्न गर्छ ।

विशेषगरी, जटिल विषयवस्तुहरुलाई जीवनका यथार्थ उदाहरणहरूसँग जोडेर प्रस्तुत गर्नु उहाँको शिक्षण कला हो । यसले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकका नियमहरू सम्झन बाध्य पार्ने होइन, तर तिनलाई व्यवहारमा प्रयोग गर्न सक्षम बनाउँछ । उहाँको कक्षामा पाठ्यक्रमको ज्ञानसंगसँगै जीवन बुझ्ने कला सिकाइन्छ । यस्तो शिक्षण शैलीले विद्यार्थीमा आलोचनात्मक सोच, तर्क क्षमता र आत्मविश्वास विकास गर्न मद्दत गर्दछ, जसले दीर्घकालीन रूपमा शैक्षिक र व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पार्छ ।

सिकाइमा अन्तरक्रियात्मकता र विद्यार्थीमैत्री वातावरण

डम्मर सरको कक्षाकोठा सधैं जीवन्त र अन्तरक्रियात्मक रहन्छ, जहाँ प्रत्येक विद्यार्थी निष्क्रिय श्रोता मात्र होइन, सक्रिय सहभागीको रूपमा अनुभव प्राप्त गर्छन् । उहाँले कक्षामा प्रश्न सोध्ने, विचार प्रस्तुत गर्ने, र वादविवाद गर्ने अवसर प्रदान गर्नुहुन्छ, जसले विद्यार्थीमा आत्मविश्वास र स्वतन्त्र सोचको विकास गर्छ । यस्तो शिक्षण शैलीले विद्यार्थीलाई केवल ज्ञान ग्रहण गर्ने स्तरमा सीमित राख्दैन, बरु तिनीहरूलाई सक्रिय रूपमा सिक्न, विश्लेषण गर्न, र आफ्नो विचारलाई स्पष्ट रूपमा व्यक्त गर्न प्रोत्साहित गर्छ ।

अधिकांश शिक्षकले मात्र परीक्षा र अंक प्राप्तिमा केन्द्रित रहँदा, डम्मर सरले शिक्षा र शिक्षणको दृष्ट्रिकोण फरक राख्नुभएको छ । उहाँले आलोचनात्मक सोच, तर्कशक्ति, र आत्मअनुशासनलाई शिक्षाको मुख्य उद्देश्यका रूपमा स्थापित गर्नुभएको छ । यसले विद्यार्थीलाई दीर्घकालीन दृष्टिले सक्षम बनाउँछ, जसले न केवल कक्षाकोठामा, बरु जीवनका विभिन्न परिस्थितिमा पनि निर्णय लिन र चुनौती सामना गर्न सहयोग पु¥याउँछ । उहाँको यो दृष्टिकोणले शिक्षा र व्यक्तित्व विकासबीचको सम्बन्धलाई स्पष्ट र प्रभावकारी बनाउँछ ।

प्रतिभा पहिचान र प्रोत्साहन गर्ने अद्वितीय क्षमता

डम्मर सरको सबैभन्दा प्रेरणादायी विशेषता भनेको विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा र क्षमताहरूलाई सहजै पहिचान गर्ने असाधारण क्षमता हो । उहाँ कुनै पनि विद्यार्थीको क्षमता सानो वा अल्पमहत्वपूर्ण भनि हेर्नुहुन्न । बरु प्रत्येक विद्यार्थीमा रहेका अनौठा गुण र सम्भावनालाई मूल्यांकन गरी तिनलाई प्रोत्साहन गर्नुभर्छ। कक्षामा कसैको लेखनमा मौलिकता देखेमा उहाँ त्यसलाई विशेष महत्व दिनुहुन्छ भने भाषणकला वा संवाद कौशल उत्कृष्ट हुने विद्यार्थीलाई नेतृत्व र प्रस्तुति अवसर प्रदान गर्नुहुन्छ ।

उहाँको यो दृष्टिकोणले विद्यार्थीहरूलाई केवल ज्ञान हासिल गर्न मात्र होइन, आत्मविश्वास र मौलिक सोच विकास गर्न प्रेरित गरेको छ । वादविवाद, लेखन, साहित्य, नेतृत्व र सार्वजनिक बोल्ने सीपमा विद्यार्थीहरूले प्रगति गर्नु उहाँको शिक्षण शैलीको प्रत्यक्ष परिणाम हो । यसले देखाउँछ कि डम्मर सरको शिक्षण केवल विषयगत ज्ञानमा सीमित छैन, बरु विद्यार्थीको सम्पूर्ण व्यक्तित्व विकास र दीर्घकालीन सफलता सुनिश्चित गर्न केन्द्रित छ ।

जीवन कौशल र मूल्यहरूको सिकाइ

शिक्षणको वास्तविक उद्देश्य केवल किताबको ज्ञान हस्तान्तरण गर्नु मात्र होइन, जीवन जिउने कला र मूल्यहरूको शिक्षा दिनु पनि हो । यस सन्दर्भमा डम्मर सर एक आदर्श शिक्षकको प्रतिमूर्ति हुनुहुन्छ । उहाँले हामीलाई असफलतालाई डरको रूपमा होइन, अवसरको रूपमा लिन सिकाउनुहुन्छ । उहाँको शिक्षण शैलीले स्पष्ट पार्छ कि जीवनमा चुनौतीहरू अवश्य आउँछन्, तर तिनलाई अवसरमा बदल्ने क्षमता नै वास्तविक शिक्षा हो । यस दृष्टिकोणले विद्यार्थीमा आत्मविश्वास र जोखिम लिने साहस विकास गर्छ, जसले दीर्घकालीन रूपमा व्यक्तिगत र व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पार्दछ ।

डम्मर सरको कक्षामा सकारात्मक सोच, धैर्यता, र नैतिक मूल्यहरूको महत्व निरन्तर चर्चा गरिन्छ । उहाँ केवल विषयगत ज्ञानमा सीमित रहनुहुन्न, बरु विद्यार्थीलाई जीवनको मार्गदर्शन गर्ने शिक्षकको भूमिकामा रहनुहुन्छ । यसरी उहाँको शिक्षणले केवल ज्ञान दिने मात्र होइन, जीवनमा सही निर्णय लिन, चुनौतीको सामना गर्न, र सकारात्मक दृष्टिकोण कायम राख्न सक्षम बनाउँछ । उहाँको यो दृष्टिकोणले शिक्षा र व्यक्तित्व विकासबीचको अन्तरसम्बन्धलाई स्पष्ट र प्रभावकारी बनाउँछ ।

विश्वविद्यालय र क्याम्पसको शैक्षिक योगदान

डम्मर सरको योगदान केवल कक्षाकोठासम्म सीमित छैन; उहाँले दार्चुला बहुमुखी क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक स्तर उकास्न निरन्तर प्रयास गर्दै आउनुभएको छ । उहाँले विश्वविद्यालयका विभिन्न गतिबिधिहरूमा सक्रिय सहभागिता जनाउनुहुन्छ र नीति निर्माण प्रक्रियामा विचार प्रस्ताव गर्नुहुन्छ । यस प्रकारको समर्पित भूमिका केवल प्रशासनिक दृष्टिकोणमा नभई शैक्षिक सुधार र दीर्घकालीन विकासका लागि समेत महत्वपूर्ण छ ।

उहाँका लेख, अनुसन्धान र सुझावहरूले विश्वविद्यालयलाई शैक्षिक दृष्टिले सशक्त बनाउनेमा ठुलो योगदान पुर्याएका छन् । उहाँका विचार र अनुसन्धानले शिक्षण–अध्ययनको वातावरणलाई गुणस्तरीय, आधुनिक र विद्यार्थीमैत्री बनाउने दिशामा मार्गदर्शन गरेका छन् । डम्मर सर केवल शिक्षक मात्र नभई शैक्षिक सुधार र संस्थागत उन्नतिको प्रेरक शक्ति पनि हुनुहुन्छ ।

आत्मानुशासन र प्रेरणादायी व्यक्तित्व

navjiwan hospital

डम्मर सरको व्यक्तिगत जीवनशैली र अनुशासन स्वयंमा एक प्रेरणा हुन् । समयपालन, मेहनत, र आत्मनिष्ठा उहाँको व्यक्तित्वका मुख्य विशेषताहरू हुन्, जसले विद्यार्थीहरूमा आदर्श बनाउने काम गर्दछ । उहाँले आफ्नो व्यवहार र कार्यशैलीमार्फत केवल विषयगत ज्ञान मात्र होइन, जीवनका वास्तविक मूल्यहरू पनि सिकाउनुहुन्छ । उहाँलाई प्रत्यक्ष देख्दा नै मेहनत, लगनशीलता र सकारात्मक सोचको महत्व बुझ्न सकिन्छ, जसले विद्यार्थीलाई आत्मसुधार र व्यक्तिगत विकासतर्फ प्रेरित गर्दछ ।

उहाँले विद्यार्थीलाई मात्र सिकाउने होइन, आफैं पनि निरन्तर सिक्ने प्रक्रिया अपनाउनुहुन्छ । आजीवन शिक्षण र आत्मविकासमा उहाँको दृढ विश्वासले शिक्षा केवल कक्षाकोठासँग सीमित छैन, बरु जीवनभरको अभ्यास र अध्ययन हो भन्ने कुरा प्रस्ट पार्छ । यस दृष्टिकोणले विद्यार्थीहरूलाई ज्ञानमा सशक्त बनाउनुका साथै, निरन्तर सुधार र आत्मसुधारको महत्व पनि सिकाउँछ ।

असल शिक्षकको पहिचान

डम्मर सरले हामीलाई स्पष्ट रूपमा देखाउनुभएको छ कि असल शिक्षक हुनु केवल पठनपाठनमा दक्ष हुनु मात्र होइन, विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा सक्रिय र लगनशील हुनु हो । उहाँको शिक्षण दृष्टिकोणले विद्यार्थीहरूलाई केवल विषयगत ज्ञानमा मात्र होइन, सामाजिक र व्यक्तिगत जीवनका विभिन्न पक्षमा सक्षम बनाउने काम गरेको छ । उहाँ भन्नुहुन्छ, ‘शिक्षकको भूमिका बहुआयामिक र दीर्घकालीन प्रभाव पार्ने हुनुपर्छ ।’

उहाँले सिकाउनुभएको सीपहरू जस्तै आलोचनात्मक सोच, समस्या समाधान, आत्मअनुशासन, र नेतृत्व विकास कक्षाकोठामा मात्र सीमित छैनन्, बरु जीवनका प्रत्येक पाटामा प्रयोग हुने योग्यताहरू हुन् । यस दृष्टिकोणले विद्यार्थीहरूलाई व्यक्तिगत निर्णय लिन, चुनौतीको सामना गर्न र जिम्मेवार नागरिकको रूपमा विकास हुन प्रोत्साहित गर्दछ । डम्मर सरको शिक्षण शैलीले शिक्षा र व्यक्तित्व विकासबीचको सम्बन्धलाई स्पष्ट र सशक्त बनाएको छ ।

विद्यार्थीमाथिको गहिरो प्रभाव

उहाँको शिक्षण शैली र मार्गदर्शनले म मात्र होइन, धेरै विद्यार्थीहरूको जीवनमा गहिरो परिवर्तन ल्याएको छ । उहाँले विद्यार्थीहरूको प्रतिभा पहिचान गरी त्यसलाई विकास गर्न प्रोत्साहित गर्नुहुन्छ, जसले उनीहरूलाई नयाँ अवसरहरू खोज्न र आफैंलाई अझ सशक्त बनाउन सहयोग पु¥याउँछ । यस दृष्टिकोणले विद्यार्थीमा आत्मविश्वास र सक्रिय सहभागिताको भावना जगाउँछ, जसले दीर्घकालीन रूपमा व्यक्तिगत र शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्छ ।
उहाँका सल्लाह र प्रेरणाले विद्यार्थीहरूलाई केवल शैक्षिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न मद्दत गरेको छ । डम्मर सरको व्यवहार र दृष्टिकोणले शिक्षक केवल पेशा होइन, समाजसेवा र भविष्य निर्माणको पवित्र कर्म हो भन्ने प्रस्ट पार्छ । यसले विद्यार्थीहरूलाई जीवनका वास्तविक मूल्यहरू र जिम्मेवारीको महत्व बुझ्न प्रेरित गर्दछ ।

गुरु–शिष्य सम्बन्धको गहिराइ

नेपाली संस्कृतिमा गुरु र शिष्यबीचको सम्बन्ध अत्यन्तै पवित्र र सम्माननीय मानिन्छ । डम्मर सरले यस परम्परालाई अझ सशक्त र जीवन्त बनाउनु भएको छ । उहाँ शिक्षक मात्र होइन, अभिभावक सरह पनि हुनुहुन्छ, जसले विद्यार्थीको व्यक्तिगत र शैक्षिक दुबै पक्षमा निरन्तर मार्गदर्शन र सहयोग प्रदान गर्नुहुन्छ । यस प्रकारको समर्पणले विद्यार्थीमा विश्वास र आत्मविश्वास विकास गर्न मद्दत गर्दछ ।

उहाँले सधैं हामीलाई हौसला दिनुहुन्छ, प्रोत्साहन गर्नुहुन्छ र भविष्यप्रति आशावादी बन्न प्रेरित गर्नुहुन्छ । यसरी उहाँले गुरु–शिष्य सम्बन्धलाई केवल शैक्षिक आदानप्रदानमा सीमित नराखी, प्रेम, सम्मान, र विश्वासको आधारमा मजबुत बनाउनु भएको छ । यस दृष्टिकोणले विद्यार्थीलाई न केवल शिक्षा प्राप्तिमा सक्षम बनाउँछ, तर जीवनभरको मार्गदर्शनमा पनि स्थायी प्रभाव पार्दछ ।

सामाजिक जिम्मेवारी र योगदान

उहाँले शिक्षणलाई केवल रोजगारीको साधन नभई सामाजिक जिम्मेवारीको रूपमा लिएको दृष्टिकोणले उहाँको व्यक्तित्वलाई विशेष बनाएको छ । शिक्षण पेशाले मात्र होइन, समाजलाई नैतिक रूपमा सुदृढ बनाउने र चेतनशील नागरिक उत्पादन गर्ने जिम्मेवारी बोक्छ भन्ने मान्यता उहाँमा पाइन्छ । त्यसैले उहाँले आफ्नो कर्तव्यलाई औपचारिक कक्षाभित्र सीमित नराखी क्याम्पस र समाजका विभिन्न गतिविधिहरूमा सक्रिय रूपमा संलग्न हुनु, उहाँको जिम्मेवार र प्रगतिशील सोचको परिचायक हो । यस प्रकारको सहभागिताले उहाँलाई विद्यार्थी मात्र नभई सम्पूर्ण समाजको लागि प्रेरणाको स्रोत बनाएको छ ।

त्यसैगरी, उहाँका विचार र क्रियाशीलताले समाजमा चेतना फैलाउने महत्वपूर्ण भूमिका खेलेको छ । सामाजिक, शैक्षिक वा सांस्कृतिक विषयमा उहाँले प्रस्तुत गर्ने दृष्टिकोणहरूले व्यक्तिहरूलाई जागृत बनाउने काम गरेको छ, जसले उहाँलाई शिक्षक मात्र नभई समाजका नैतिक र बौद्धिक नेतृत्वकर्ताका रूपमा स्थापित गराएको छ । समाजलाई मार्गदर्शन गर्ने क्षमता, शैक्षिक दक्षता र नैतिक आचरणको कारण उहाँ जस्ता शिक्षकहरू नेतृत्वदायी भूमिकामा हुनु आवश्यक देखिन्छ । यसरी हेर्दा, उहाँको योगदान शिक्षण पेशाको मर्यादा अभिवृद्धि गर्ने र समाजलाई सही दिशातर्फ डोर्याउने महत्वपूर्ण आधार बनेको छ ।

आजीवन सिकाइ र अनुसन्धानप्रतिको लगाव

डम्मर सरको अनुसन्धान र निरन्तर सिकाइप्रतिको लगाव उहाँको शैक्षिक व्यक्तित्वको मुल आधार हो । शिक्षणलाई स्थिर ज्ञानको प्रसार मात्र नभई निरन्तर परिष्कृत र अद्यावधिक हुनुपर्ने प्रक्रिया ठान्नु, उहाँको दूरदर्शी सोचलाई प्रष्ट देखाउँछ । विभिन्न अनुसन्धान, लेखन र प्रशिक्षण कार्यक्रममा सक्रिय सहभागिता जनाउनु भनेको व्यक्तिगत उन्नति मात्र नभई समग्र शैक्षिक गुणस्तर वृद्धिमा योगदान दिनु हो भन्ने धारणा उहाँले स्थापित गर्नुभएको छ । यसले उहाँलाई साधारण शिक्षकभन्दा भिन्न बनाई, खोजमूलक र असल गुरुमाथि समाजले राख्ने अपेक्षालाई पूरा गर्ने क्षमता प्रदान गरेको छ ।

त्यसैगरी, निरन्तर सिकाइमा जोड दिनु उहाँको शैक्षिक दृष्टिकोणको व्यावहारिक प्रमाण हो । नयाँ प्रविधि, विधि र दृष्टिकोणसँग आफूलाई जोडेर उहाँले विद्यार्थीहरूलाई पनि समयानुकूल शिक्षणमा संलग्न हुन प्रेरित गर्नु, वर्तमान शिक्षण परिपाटीलाई सुदृढ पार्ने महत्वपूर्ण योगदान हो । यसरी आफ्नो ज्ञान अद्यावधिक गर्दै अरूलाई समेत अद्यावधिक गराउने कार्यले उहाँलाई मात्र नभई सम्पूर्ण शैक्षिक समुदायलाई लाभान्वित बनाएको छ । तसर्थ, अनुसन्धान र निरन्तर सिकाइप्रतिको यो प्रतिबद्धता डम्मर सरलाई जिम्मेवार, खोजीमुखी र आदर्श गुरुका रूपमा स्थापित गर्ने प्रमुख आधार बनेको छ ।

निष्कर्ष

आदरणीय गुरु डम्मर सिंह साउद सरको व्यक्तित्वलाई हेर्दा उहाँ एक साधारण शिक्षक मात्र नभई मूल्य, अनुशासन र प्रेरणाका स्रोतको रूपमा स्थापित हुनुहुन्छ भन्ने स्पष्ट हुन्छ । उहाँको शिक्षण शैली, आत्मनिष्ठा र समर्पणले विद्यार्थी मात्र होइन, सम्पूर्ण शैक्षिक वातावरणलाई नै सकारात्मक दिशातर्फ उन्मुख बनाएको छ । कक्षाकोठाभित्रको ज्ञान हस्तान्तरणदेखि लिएर विश्वविद्यालय र समाजसम्मको सक्रिय योगदानले उहाँलाई एक असल गुरुका रूपमा पहिचान दिलाएको छ । विशेषगरी, उहाँले दिनुभएको शिक्षा र जीवनदर्शन अहिलेका लागि मात्र नभई दीर्घकालीन प्रेरणाको आधार बन्न सक्ने खालका छन्, जसले विद्यार्थीलाई जीवनपर्यन्त उपयोगी हुने व्यवहारिक ज्ञान र दृष्टिकोण दिन्छ ।

त्यसैगरी, एक गुरुले विद्यार्थीको जीवनमा पार्ने प्रभावलाई पूर्ण रूपमा शब्दमा उतार्न असम्भव भए पनि डम्मर सर जस्ता गुरुहरूको मार्गदर्शन पाउनु विद्यार्थीहरूको लागि असाधारण सौभाग्य हो । उहाँको प्रेरणा, अनुशासन र ज्ञानप्रतिको प्रतिबद्धताले विद्यार्थीहरूलाई मात्र होइन, भविष्यका पुस्ताहरूलाई समेत उज्यालो मार्ग देखाउनेछ भन्ने कुरा निर्विवाद छ । उहाँको योगदान र समर्पणलाई हृदयदेखि सम्मान गर्नु उचित मात्र होइन, आवश्यक पनि छ । यसरी हेर्दा, डम्मर सरको शैक्षिक यात्रा व्यक्तिगत सीमाभन्दा पर समाज र राष्ट्रकै बौद्धिक प्रगतिको दिशामा प्रेरणादायी योगदानका रूपमा स्थापित भएको छ ।

(लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।)