अत्तरिया – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमको राजधानी डोटीमा बनाउन आफूहरूले प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् । ‘जनतासँग माओवादीः मध्य पहाडी लोक मार्ग जनजागरण अभियान’का क्रममा डोटी पुगेका प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलाली पु¥याएको बताए ।

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान सभाको निर्वाचन हुन अगाडि नै डोटी आएको थिए । त्यति बेला डोटी नै सुदूरपश्चिम प्रदेशको केन्द्र हुन्छ । हाम्रो तर्फबाट त्यसमा सहयोग हुन्छ भनेको थिए । तर, अन्ततः हाम्रो त्यति बेला केही लागेन अन्ततः प्रदेशको केन्द्र धनगढी हुन पुग्यो । कैलाली हुन पुग्यो’ उनले भने ‘हामीले सुदूरपश्चिमलाई जुन रूपले बुझेका थियौ । सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने एउटा बहस चल्यो र, अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पु¥याएको हो भन्ने कुरा बुझ्न म डोटीवासीलाई आग्रह गर्दछु ।’

उनले अखण्डको नाराले डोटीको अधिकारलाई कहिनकै कुण्ठित पारेको बताए । उनले भने ‘अखण्ड भन्दा राम्रो शब्द भयो । अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो । तर, त्यो अखण्डले डोटीको औचित्यलाई, डोटीको अधिकारलाई कहिनकै कुण्ठित ग¥यो भन्नु कुरा बुझ्न जरुरी छ ।’
उनले डोटीको विकासको लाईफलाईन भनेको खुटिया, दिपायल, चैनपुर फास्ट ट्र्याक महत्त्वपूर्ण राजमार्गको रूपमा रहेको बताए । उनले खुटिया, दिपायल, चैनपुर फास्ट ट्र्याक आफ्नो कार्यकालमा प्रस्ताव गरिएको बताए । उनले भने ‘यो म प्रधानमन्त्री भएको बेला प्रस्ताव गरिएको राजमार्ग हो । आज हाम्रो सिङ्गो टिम निर्माण हुँदै गरेको फास्ट ट्र्याकको अवलोकन गरेका छौ । यसलाई छिटो सम्पन्न गराउन आवश्यक छ ।’


















