धनगढी – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुदूरपश्चिममा नेतृत्वकै निर्णय नमान्ने राजनीतिमै पहिलो घटना भएको बताएका छन् । जनता सगं माओवादी विशेष कार्यक्रमका लागि सुदूरपश्चिम आएका श्रेष्ठले पार्टी कार्यालय धनगढीमा संक्षिप्त कुराकानी गर्दै नेतृत्वले निर्देशन दिइसकेपछि पनि निर्देशन कार्यान्वयन नहुनु पहिलो घटना भएको बताएका हुन ।

उनले भने ‘पटक पटक अध्यक्षले दलको नेता खगराज भट्टलाई बनाउनु भनेर निर्देशन दिइसक्नुभएको छ, अध्यक्षको निर्देशन समेत नमान्ने घटना बिरलै देखिन्छन्, यो सुदूरपश्चिममा देखियो, मैले देखेको पहिलो घटना हो ।’

पार्टी अध्यक्ष प्रचण्ड सुदूरपश्चिममै आएकाले यसको समाधान हुने उनको भनाई छ । अब निर्देशन भन्दा पनि पार्टी अनुशासनको प्रक्रिया अगाडी बढाउनुपर्ने उनको भनाई छ ।
नेकपा माओवादीको जनतासँग माओवादी विशेष कार्यक्रम अन्तरगत थालिएको तराई–मधेस हुलाकी मार्ग जागरण अभियानको क्रममा वरिष्ठ उपाध्यक्ष सहित नेताहरू सुदूरपश्चिम पुगेका छन् ।

















