धनगढी – छैठौं एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१ मा खोखोका हेमराज पनेरु र मानमती धामी वर्ष खेलाडी घोषणा भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजन तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रबद्र्धनमा भएको अवार्डमा पनेरु वर्ष खेलाडी पुरुष र धामी वर्ष खेलाडी महिला घोषणा भएका हुन् ।
पनेरु प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । धामी प्रथम खोखो विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुन् । उनीसंगै बक्सिङकी स्वस्तिका तिरुवा र कबड्डीकी मानमती बिष्ट मनोनयनमा परेका थिए । अवार्ड विजेता पनेरु र धामीले नगद ३५–३५ हजार रुपैयाँसंगै ट्रफी पाए ।

यस्तै, कबड्डीका हरिना थापा वर्ष पशिक्षक भएकी छिन् । विजेता थापाले नगद ३० हजार रुपैयाँसंगै ट्रफी प्राप्त गरिन् ।

वर्ष युवा खेलाडी भने कबड्डीका सुशील चुनारा भए । बंगलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । चुनाराले नगद २५ हजारसहित ट्रफी पाए ।
यस्तै पुरुषतर्फ पौडीका अथर्व सिंह र महिलातर्फ करातेका मनिषा बोहरा सुदूरपश्चिम आइकन घोषित भए । दुबै विजेता खेलाडीले नगद २५–२५ हजारसहित ट्रफी प्राप्त गरे ।
यस्तै फुटबलका कमल लामालाई लाइफटाइम एचिभमेन्ट र क्रिकेटकी रितु कनौजियालाई स्पेशल अवार्ड प्रदान गरिएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । उनीहरु दुबै जनाले नगद २५–२५ हजारसहित ट्रफी प्रदान गरिएको छ ।
छैठौं संस्करणको अवार्ड कार्यक्रम मंगल साँझ धनगढीमा भएको हो । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा गायक दुर्गेश थापा लगायतका कलाकारको प्रस्तुति पनि रहेको थियो ।














