धनगढी – कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा कुखुरा बोकेको बोलेरो पिकअप दुर्घटनामा परेको छ ।

शनिबार बिहान सडकमा आएको गाईलाई बचाउन चालकले ब्रेक लगाउँदा ना ४ च ५१०५ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भइ सडक किनारमा पल्टिएको हो । चितवनबाट कुखुरा लिएर धनगढीतर्फ आउँदै गरेको उक्त पिकअपमा करिब १५ क्विन्टल कुखुरा रहेको चालक निरज गुरुङले बताए ।

दुर्घटनाको क्रममा पिकअपमा रहेका कुखुरामध्ये आधाजति च्यापिएर मरेका उनले बताए ।
पिकअपमा चालकसहित दुई जना सवार थिए । दुर्घटनामा चालक गुरुङको हातमा सामान्य चोट लागेको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोली, ट्राफिक प्रहरी र जेसीबीको सहयोगमा पल्टिएको पिकअप उठाइएको छ ।



















