अत्तरिया – नेपाली एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’ को टिम भोलि आइतबार दर्शकसँग साक्षात्कार गर्न धनगढी आउने भएको छ । चलचित्रका अभिनेता समिर भट्टले भिडियो सन्देशमार्फत आफू लगायत चलचित्रको सम्पूर्ण टिम धनगढीस्थित एसटीएस सिनेमामा उपस्थित हुने जानकारी दिएका हुन् ।
भट्टले सुदूरपश्चिमका दर्शकसँगै बसेर चलचित्र हेर्ने तयारी रहेको जनाउँदै चलचित्रप्रेमीलाई हलमा उपस्थित हुन आग्रह गरेका छन् । चलचित्रको प्रदर्शनपछि दर्शकको प्रतिक्रिया लिन र उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्न टिम धनगढी आउन लागेको हो ।


विराज भट्टको निर्देशन तथा निर्माणमा बनेको ‘१२ गाउँ २’ गत असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधलाई मुख्य विषयवस्तु बनाइएको चलचित्रमा विराज भट्ट र उनका छोरा समीर भट्ट प्रमुख भूमिकामा छन् ।
चलचित्रमा अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कृशु शाही (काफिया), वर्षा इटानी, खुसी कार्की, कालु राना र पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन् भने छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ ।
यसअघि प्रदर्शनमा आएको ‘१२ गाउँ’ व्यावसायिक रूपमा सफल भएपछि यसको दोस्रो भागप्रति दर्शकको चासो बढेको थियो । सन् २०२४ मा प्रदर्शन भएको पहिलो भागले करिब १९ करोड ९२ लाख रुपैयाँको व्यापार गरेको थियोे । दोस्रो भागमा पनि एक्सन र कमेडीको संयोजनलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।





















