खाेज्नुहाेस

बाजुराका चार वडा अझै सडक सञ्जालबाहिर

Image

बाजुरा – बाजुरा जिल्लाका चारवटा वडा अझै सडक सञ्जालसँग जोडिन सकेका छैनन् । सडक पहुँच नहुँदा स्थानीय बासिन्दा दैनिक उपभोग्य सामग्री ढुवानी, स्वास्थ्य उपचार तथा कृषि उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ भोगिरहेका छन् ।

जिल्लाको हिमाली गाउँपालिका–२ र ३, गौमुल गाउँपालिका–१ को अम्लिस तथा त्रिवेणी नगरपालिका–५ को किम्नीमा हालसम्म सडकको पहुँच पुगेको छैन । यी क्षेत्रका बासिन्दाले सामान्य कामका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था छ ।

attariya hospital

हिमाली गाउँपालिकाका वडा नम्बर २ र ३ का बासिन्दालाई पालिकाको केन्द्र धुलाचौर पुग्न दुईदेखि तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर रोकायाले बताए । गाउँबाट गाउँ पुग्नसमेत एक दिनभन्दा बढी समय लाग्ने गरेको छ । खाद्यान्नलगायतका सामग्री मानिसले बोकेर वा खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

हिमाली–३ का वडाध्यक्ष मङ्गलबहादुर बुढाका अनुसार सडक र सञ्चार सुविधाको अभावले स्थानीयको जनजीवन प्रभावित भएको छ । बिरामीलाई समेत पिठ्युँमा बोकेर लैजानुपर्ने अवस्था रहेको उनले बताए ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भौगोलिक विकटता, सीमित स्रोतसाधन र संघ तथा प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा सडक विस्तारमा समस्या भएको बताए । उनका अनुसार साविकको बिच्छ्या क्षेत्रअन्तर्गत वडा नम्बर १ मा हालै सडक पुगेको छ भने वडा नम्बर २ का लागि एक करोड ५० लाख र वडा नम्बर ३ का लागि एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ती वडामा सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने तयारी रहेको उनले जानकारी दिए ।

navjiwan hospital

यस्तै, गौमुल गाउँपालिका–१ अम्लिसमा सडक पुर्‍याउन दुई वर्षअघि एक करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम सुरु गरेको छैन । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार पटकपटक म्याद थप गरी काम सुरु गर्न ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो देखाएको छैन । आगामी मङ्सिर मसान्तसम्म काम सुरु नगरे ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

त्रिवेणी नगरपालिका–५ किम्नीमा पनि सडक पुगेको छैन । स्थानीय तुली बुढाका अनुसार निर्वाचनका बेला सडक निर्माण र विकासका आश्वासन दिइए पनि अहिलेसम्म गाउँमा गाडी पुग्न सकेको छैन । नगरपालिकाका सेवा लिनसमेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीय भरत बुढाले बताए ।

त्रिवेणी नगरपालिकाका प्रवक्ता मीनबहादुर भण्डारीले किम्नीमा सडक पुर्‍याउन विभिन्न स्थानबाट ट्र्याक खोलिएको भए पनि पर्याप्त बजेट अभावमा काम अघि बढाउन समस्या भएको जानकारी दिए ।

सडक अभावले स्थानीयको आवतजावतमा मात्रै नभई स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, कृषि उपजको बजारीकरण र आर्थिक गतिविधिमा समेत असर परेको छ । सडक नपुगेका बस्तीमा आधारभूत सेवा पुर्‍याउन स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक देखिएको छ ।

यसैबीच, बाजुराका ग्रामीण सडक तथा प्रदेश सरकारका केही सडक आयोजनामा बजेट खर्च हुन नसकेको समस्या पनि देखिएको छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मार्तडी–कोल्टी सडकका लागि विनियोजित २० करोड रुपैयाँ र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँ निर्माण कम्पनीले समयमै काम नगर्दा खर्च हुन नसकी फिर्ता गएको थियो ।

स्थानीय तहमा सडक निर्माणका लागि बजेट विनियोजन र ठेक्का सम्झौता भए पनि समयमै काम अघि नबढ्दा दुर्गम बस्तीका नागरिकले आधारभूत यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ । निर्माणाधीन आयोजनाको नियमित अनुगमन र सम्झौताअनुसार काम सम्पन्न गराउनु सम्बन्धित निकायका लागि चुनौती बनेको छ ।