धनगढी– नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य धीरेन्द्र साउँदलाई नेपाल प्रिमियर लिग (एनपिएल)– ३ को टुर्नामेन्ट डाइरेक्टरको महत्वपुर्ण जिम्मेवारी दिईएको छ । आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएल सिजन–३ लाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्राविधिक रूपमा स्तरीय बनाउन क्यानले साउँदलाई सो जिम्मेवारी दिएको हो ।

साउँदको जिम्मेवारीमा एनपिएलको तेस्रो सिजन अझै व्यवस्थीत र प्राविधिक रुपमा सफल बन्ने अपेक्षा गरिएको छ । यसपटकको एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिताको तयारीलाई भव्य रूपमा अगाडि बढाइएको छ । हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट स्वीकृति प्राप्त गरेको एनपीएलका यस सिजनका खेलले लिस्ट ‘ए’ क्रिकेटको मान्यतासमेत पाएका छन् । यसले प्रतियोगिताको आधिकारिकता र महत्वलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

त्यस्तै, एनपीएल सिजन–३ देखि नेपाल क्रिकेट संघले डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोग गर्ने तयारी गरेको छ । डीआरएसको प्रयोगले अम्पायरका निर्णयलाई पुनरावलोकन गर्न सहज बनाउनुका साथै खेलको प्राविधिक पक्षलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
आईसीसीको मान्यता, लिस्ट ‘ए’ को दर्जा र डीआरएस प्रविधिको प्रयोगले यसपटकको एनपीएलको प्रतिस्पर्धात्मक स्तर थप उकास्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको व्यवस्थापनदेखि प्राविधिक पक्षसम्म सुधार गर्ने प्रयासले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
एनपीएल सिजन–३ का लागि भइरहेको तयारीसँगै टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा रहेका क्यानका केन्द्रीय सदस्य धीरेन्द्र साउँदको भूमिका पनि महत्वपूर्ण रहने देखिएको छ ।


















