मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागू औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।

लागू औषधको दुर्व्यसन तथा अवैध ओसार–पसार बहुपक्षीय सरोकारको विषय हो । यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदायकै सामूहिक समस्याका रूपमा प्रकट हुँदै आएको छ । विश्वका सबै जसो राष्ट्र यस समस्याबाट अछुतो रहन सकेका छैनन् । नेपालमा सन् १९६० को दशकको सुरुदेखि हिप्पी संस्कृतिको आगमनका साथै लागू औषध दुर्व्यसनको समस्या जटिल हुँदै गएको देखिन्छ । नेपालमा लागु औषध प्रयोगकर्ताहरूको सङ्ख्या हालको अव्यवस्थित सहरीकरण, सङ्गठित आपराधिक सञ्जालको प्रभाव वृद्धि, तथाकथित आधुनिकीकरणको विस्तार आदिका कारणले निकै बढ्न गएको अनुमान गर्न सकिन्छ । सहरी क्षेत्र र खास गरी नेपाल–भारत सीमावर्ती सहरहरूमा यो समस्या बढ्दो मात्रामा रहेको पाइन्छ ।

विगतमा गाँजा, चरेस र हेरोइनको सेवनमा सीमित रहेका लागू औषध प्रयोगकर्ताहरूले सन १९९० को दशकको सुरुवात सँगै सुईको माध्यमबाट समेत लागू औषध प्रयोग गर्न थालेको पाइन्छ । बहु औषधीय प्रयोग र दुर्व्यसन गर्ने विधिमा आएको परिवर्तनका कारण लागु औषध प्रयोगकर्ताहरू कुपोषण, रक्त अल्पता, हेपाटाइटिस, यौनजन्य रोग र एच.आई.भी. एड्स जस्ता खतरनाक रोगबाट सङ्क्रमित हुने क्रम बढ्दै गएको छ । समग्रमा एच.आई.भी.को सङ्क्रमणको अनुपात सुई प्रयोगकर्ताहरूमा बढी देखिएकाले उनीहरूद्वारा लागू औषध प्रयोकर्ताहरुको समूह, आफ्नै परिवार र अन्य व्यक्तिहरूमा एच.आई.भी.को सङ्क्रमण गर्ने सम्भावना बढेको छ ।
त्यति मात्रै नभई प्रयोगकर्तामा एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सृजना, आत्महत्या गर्न प्रेरित हुने लगायतका असरहरू हुने गर्दछन् । यसको प्रयोगले परिवार तथा समाजमा समेत नराम्रो असर पर्न जान्छ । घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दुरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि कार्यहरूमा प्रयोगकर्ताहरू बढी संलग्न हुने हुनाले यसको प्रयोगलाई विश्व स्वास्थ्य सङ्गठनले निषेध गरेको छ ।
लागू औषधले सामाजिक रूपमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको निराकरणका लागि सबैले एकजुट हुन आवश्यक छ । प्रहरीले दिनहुँ लागू औषध प्रयोगकर्ता र केही कारोबारीहरूलाई पक्राउ गरिरहेको भए पनि अझै पनि यसको निक्र्याैल हुन सकेको छैन । नजिकै सिमानाका भएकाले पनि यहाँ लागू औषधको जालो भत्काउन प्रहरीले मात्रै सक्ने अवस्था छैन ।
तसर्थ यसमा सबैको हातेमालो आवश्यक छ । लागू औषधका सामान्य कारोबारीहरूलाई मात्रै नभई ठुला व्यापारीहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सके केही हदसम्म लागू औषधको कारोबार कम गर्न सकिन्छ । लागू औषधले व्यक्ति र परिवारलाई मात्रै नभई समाजलाई पनि नराम्ररी बिथोल्ने भएकाले यसको नियन्त्रणमा सबैले लाग्न जरुरी छ ।

















