मुख्य रूपमा गत वर्ष लगाइएको महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणका कारण विभाजित बनेको अत्तरिया उद्योग वाणिज्य संघको समिति अहिले अन्यौलता छ । समितिका ११ जना पदाधिकारीले राजीनामा दिँदा अध्यक्षले पुनः यो वर्ष पनि महोत्सव लगाउने भन्दा यो विषयले झन् बढी विवाद सृजना गरेको छ । करिब एक वर्षदेखि विवादित बनेको यो विषय हालसम्म पनि सुल्झिन सकेको छैन ।

संघको नियमित क्यालेन्डर अनुसार पुस २७ गते महोत्सव आयोजना गर्ने गरी विवाद सुल्झाउने प्रयास गरिएको भए पनि विवाद ज्युँ का त्युँ रहेको छ । विवाद सुल्झाउन पुस ९ गते समन्वय समिति बनाइएको भए पनि अझै निकास निस्किन सकेको छैन ।

संघका अध्यक्षले नै विवाद सुल्झाउने तदारुकता नदेखाउँदा विवाद लम्बिँदै गएको समन्वय समितिको भनाई छ । राजीनामा दिएको पक्ष र अध्यक्षलाई सँगै राखेर निकास निकाल्ने प्रयास गरे पनि अध्यक्षको ठोस जवाफ नआएको समन्वय समितिले बताएको छ । महोत्सव लगाउने विषयमा अत्तरिया उद्योग वाणिज्य संघको कार्यालयमा यही पुस ५ गते व्यापारीहरूको भेला राखिएको थियो । जसमा सहभागी अधिकांश व्यापारीहरूले महोत्सव लगाउने विषयमा आफ्नो राय राखेका थिए । तर त्यसपश्चात् लगत्तै पुस ९ गते पुनः सोही विषयमा छलफल राखिएको थियो ।
उक्त छलफलमा सहभागीहरूले भने तत्काल महोत्सव लगाउने नभई कार्यसमितिको निक्र्याैल गर्न जरुरी रहेको सुझाएका थिए । बहुमत सदस्य सहित पदाधिकारीहरूले राजीनामा दिँदा समितिका अध्यक्ष सहित १ पदाधिकारी, १ जना सदस्य र एक जना निवर्तमान अध्यक्ष समितिमा छन् । बहुमत पदाधिकारी सहित सदस्यले राजीनामा दिइसकेको अवस्थामा निर्वाचनमार्फत नयाँ कार्यसमिति बनाइनुपर्ने भन्ने पक्ष र अध्यक्षले मनोनीत गर्न पाउने अधिकार भएकाले ४ जना मनोनीत गरेर महोत्सव लगाउने भन्ने पक्षको बिचमा संघको अस्तित्व नै धरापमा पर्ने अवस्था आएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघ व्यवसायीहरूको हकहित र अधिकारका लागि बनेको संस्था हो । यसमा आबद्ध व्यवसायीहरूका हक अधिकार, उनीहरूका समस्या र सुरक्षाका विषयमा खटिनु संघमा आबद्ध पदाधिकारीहरूको कर्तव्य हो । तर महोत्सव लगाउने विषयमा विवाद हुँदा लामो समय देखी व्यवसायीहरूले जोगाएर राखेको संस्थाको बदनाम भइरहेको छ भने अस्तित्व नै खतरामा पर्ने देखिएको छ । तसर्थ बाल हठ त्यागेर संस्थाको अस्तित्व बचाउनतिर सबैले लाग्न जरुरी छ । व्यवसायीहरूको संस्थालाई व्यवसायीहरूको ऐक्यबद्धताले नै बचाउने हो । त्यसैले यसको व्यवसायीहरू एकजुट भई संस्थालाई निकास दिने कुरामा अघि बढ्न जरुरी छ । महोत्सव लगाउने वा निर्वाचन गर्ने भन्ने विषयमा व्यवसायीहरूले एक निर्णय दिन सक्नुपर्दछ । संघमा देखिएको विवाद सुल्झाएर नयाँ बाटो सृजना गर्ने कुरामा ढिलाइ गर्नुहुँदैन ।

















