हिन्दु धर्मावलम्बीहरूको महान् पर्व मध्येको एक तिहार आइतबार बाट सकिएको छ । आइतबार भाइटिकासँगै यो वर्षको तिहार सकियो । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपञ्चक पनि भनिन्छ । तिहार खास गरी रङ, फूलको झिलिमिली, प्रकृति पूजन र बत्तीहरूको पर्व हो । तिहारलाई प्रकृति पूजा, प्राणीहरूको पूजा गरी एक आपसी मेलमिलाप, सद्भाव, माया, प्रेम, स्नेहको पर्वको रूपमा भव्य रूपले मनाइन्छ ।

तिहारका समयमा खेलिने देउसी भैलोको इतिहासले भगवान् विष्णु र राजा बलिलाई जोडेको छ । किंवदन्ती अनुसार बलि राजा निकै अहङ्कारी थिए । उनको घमन्ड तोड्न भगवान् विष्णु बाउन्ने रूप धारण गरेर राजाको घरमा पुगे । बलि राजाले घरमा पुगेका बाउन्ने रूपी भगवान् विष्णुलाई जे मागे पनि दिने प्रतिबद्धता गरे । विष्णुले तीन पाइला जमिन मागे । एक पाइलामा पृथ्वी र अर्को पाइलामा अन्तरिक्ष सकियो । तेस्रो पाइलामा भने राजाले आफ्नो शिर राखेर विष्णुको खुट्टा ढोगे । त्यसपछि राजा अंहकार छाडेर असल बने । त्यही खुसीयालीमा बलि राजाले रैतीलाई देउसी खेल्न पठाएको किम्बदन्ती छ । त्यसैले पनि देउसी खेल्दा भट्याउँदा बली राजाले पठाएको भन्ने चलन रहेको पौराणिक कथामा लेखिएको जानकारहरू बताउँछन् ।
भैली ९देउसी० मा देउसी खेल्ने घरलाई दरबार सम्झेर त्यसको बारेमा चर्चा गर्ने गरिन्छ । देउसी खेल्दै घर मालिकलाई धनधान्यको वरदान तथा आशिष् दिने र घर मालिकबाट सगुन माग्ने गरिन्छ । परापूर्व कालमा गोलबद्ध भई वा एकतिर लामबद्ध भई घरअगाडि देउसी घर मालिकलाई दिइने वरदानका गीतहरू आफै गाउने र नाच्ने काम देउसीयाहरुले गर्दथे ।

तर, अहिलेको अवस्था भने फेरिएको छ । युवायुवतीहरूको समूहले देउसी खेल्ने भन्दै ठुलो डिजे साथमा बोकेर आधुनिक स्टाईलका गीतहरूमा नृत्य गर्ने चलन चलेको छ । परम्परागत शैलीको देउसी गीतको सट्टा आधुनिक गीतहरू अहिले तिहारको समयमा बढी प्रचलनमा आएका छन् । पुरानो संस्कृति र कलालाई आत्मसाथ गरेर खेलिने देउसीको रौनक अहिले छैन ।
अहिलेको देउसी संस्कृति हराएको देउसी बनेको छ, कला गुमाएको देउसी बनेको छ । देउसीका गीतहरू कुनै फिल्मका गीतहरू भएका छन्, देउसीको नृत्य आधुनिक स्टाईलको विदेशी डान्स बनेको छ । कला र संस्कृतिको जर्गेना हेतु खेलिने देउसीमा कला र संस्कृति कै अपमान भएको छ । यस वर्ष परम्परागत संस्कृति र कला लाई मिचेर आधुनिक युगको देउसी देखिएको छ ।
टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्ट्याउने र सहभागीहरूले देउसिरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठुलो छ, दान पनि ठुलै हुन्छ, भैलोलाई मुठी खोलेर दान दिन्छन्, मिठा मिठा परिकार दिन्छन्, छानामाथि घिरौँला के–के दिन्छन् हेरौला भन्दै खुब फुर्क्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौँ, बलि राजाले पठाएको भन्ने गरिन्छ ।
तर विगतको जस्तो वर्तमानको देउसी देखिएन । देउसीमा परम्परागत रूपमा नाइकेले हाल्ने लय थिएन, त्यसको सट्टा डिजेको घन्किँदो लय सुनियो । टोली नाइकेले भट्ट्याउने चलन हराएर डिजेले भट्ट्याउने चलन सुरु भयो । अहिले त कुनै बिहेको पार्टीमा डिजे बजाएर युवायुवतीको समूह नाचिरहेको जस्तो भान हुन्छ । पश्चिमा संस्कृतिले बिगारेको देउसी भैलोको संस्कारको जर्गेना गर्न जरुरी छ । यस्ता कुराहरूमा सरोकारवाला निकायले विशेष ध्यान दिन आवश्यक छ ।

















