खाेज्नुहाेस

बालिकाका हत्यारालाई कडा कारवाही गर

Image

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित बन्यो । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसक्दा पनि न अहिले सम्म निर्मलाका हत्यारा पक्राउ परेका छन् न समाजमा यस्ता घटना रोकिएका छन् । निर्मलाको घटना सेलाउन नपाउँदै बैतडीकी १७ वर्षीया भागरथी पन्तको पनि बलात्कारपछि हत्या भएको थियो ।

पछिल्लो पटक फेरि उस्तै प्रकृतिको क्रूर घटना डडेल्धुरामा पनि घटेको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय बालिका आरती भट्टराईको हत्या गरेर प्लास्टिकको बोरामा बेरिएको अवस्थामा शव फेला परेको छ । प्रहरीले किशोरी हत्या आरोपी सार्वजनिक गरिसकेको छ ।

attariya hospital

आरतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही वडास्थित पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । भण्डारी पोखरा बजारमा रहेको भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालक पनि हुन । भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टमा पनि हत्या घाँटी थिचेर गरेको पुष्टि भएको छ । तर किशोरीको हत्या के–कति कारणले गरे भन्ने कुरा खुलिसकेको छैन ।

navjiwan hospital

यस्तै बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीय किशोरी पनि शुक्रवार देखि बेपत्ता छिन । ती किशोरीलाई भने रक्षक भनिने प्रहरीले नै बेपत्ता पारेको आरोप लागेको छ । पानी भर्न जान्छु भन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो । किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेपछि र प्रहरी हवलदार भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरूले महाकाली पारीको भारत पट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाधेका थिए ।

किशोरी एवम् बालिकाहरुमाथी भैरहेका यस्ता क्रुर घटनाहरुमा अझै पनि कमी आउन सकेको अवस्था छैन । न त यस्ता घटनाका अपराधीहरु नै पक्राउ परिरहेका छन । केही घटनामा प्रहरीले अपराधी पत्ता लगाउन सफल भएको भएपनि प्रायजसो घटनाहरुमा अनुसन्धान नै अलमलमा परेको देखिन्छ । कञ्चनपुरकी निर्मलका हत्याराहरु अझै पनि खुलेआम घुमिरहेका छन । बलात्कार गरेर किशोरीको हत्या गर्ने अपराधीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कारबाही नगरेसम्म यस्ता घटनाहरुले प्रशय पाईरहनेछन ।

देशको कानून भन्दा माथी उठेर कानूनको मतलब नगरेर यस्ता जघन्य अपराध गर्ने अपराधीहरुका लागि फाँसी जस्ता सजायहरु पनि कम हुन सक्छन । प्रहरीले सुक्ष्म तरिकाले र सक्रिय भएर अनुसन्धान गरेको खण्डमा कुनै पनि घटनाका अपराधीहरुले चैनको सास फेर्न पाउदैनन् ।

त्यसैले यस्ता घटनाहरुमा प्रहरीको सक्रियता बढी हुनुपर्ने देखिन्छ । देशप्रति र जनताप्रति बफादार बनी नागरिकको जनधनको सुरक्षाका लागि सुरक्षा निकाय कटिबद्ध हुनुपर्दछ । अपराधीहरुलाई पक्राउ गरी कारबाही गर्न सके भविष्यमा यस्ता घटनाहरु न्यूनिकरण सकिन्छ । तसर्थ यतातिर सुरक्षा निकायले को ध्यान जान आवश्यक छ । बालिका तथा किशोरीहरुलाई सुरक्षित भएर हिड्न पाउने वातावरण सृजना हुनुपर्दछ ।