खाेज्नुहाेस

नालीले सृजना गरेको फोहोर व्यवस्थापन गर

Image

सुदूरपश्चिमको केन्द्र, मुटु, संगम स्थलको उपमा पाएको अत्तरिया अहिले नाला सफा नगरिँदा लज्जित बनिरहेको छ । अत्तरियाको पहाड रोडको नालामा फोहोर भरिएको छ । फोहोरले नाला भरिएका कारण बसपार्क देखि बगेर आउने पानी सर्भिस लेन सडकमा जम्ने गरेको छ । जसका कारण बसपार्क देखि अत्तरिया चोक सम्मको सर्भिस लेन सडक पुरै हिलाम्मे र गन्हाउने पानीले भरिएको छ ।

जसका कारण स्थानिय व्यवसायीहरुलाई व्यापार गर्न समस्या हुने गरेको छ । कोरोना महामारी पछि व्यवसाय थला परेको अवस्था पसल अगाडी आउने बाटोमै गन्हाउने फोहोरका कारण ग्राहक नआउदा थप सास्ती बेहोर्नुपरेको व्यापारीहरु बताउछन् । उक्त क्षेत्रमा बढीजसो होटल व्यवसायहरु रहेका छन । ग्राहकहरुलाई खाना नास्ता दिनुपर्ने ठाउँ अगाडी नै फोहोर देखेर खाना नास्ता खाने मान्छे आउने कुरै भएन ।

attariya hospital
navjiwan hospital

त्यतिमात्रै नभई सर्भिस लेनमा जमेको पानीका कारण विभिन्न रोगहरुको संक्रमण फैलने जोखिम बढेको छ । पछिल्लो समय डेंगीको भाईरस देशभर फैलिएको छ । फोहोर पानीमा भेटिने लामखुट्टेहरुका कारण नै डेंगी लाग्ने गरेको छ । त्यसैले पनि सो क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायीहरु डेंगीको जोखिममा रहेका छन ।

बजारको अवस्था बिग्रिएको अवस्थामा त्यसलाई सुधार्न र व्यवस्थीत गर्ने काम स्थानिय सरकारको हो । व्यवसायीहरुले व्यापार सञ्चालन गर्नका लागि सरकारलाई कर तिरेका हुन्छन । तर सरकारकै कमजोरीका कारण व्यवसायीहरुले सहज रुपमा व्यवसाय सञ्चालन गर्न पाएका छैनन् । उक्त विषयमा स्थानिय सरकारले विचार पु¥याउनुपर्दछ । त्यो क्षेत्रका व्यवसायीहरुले अहिले उक्त सर्भिस लेन सरसफाई र व्यवस्थापनको माग गरिरहेका छन । त्यो मागलाई टार्ने सरकारलाई छुट छैन । नाली सरसफाई गरी पानीको निकास दिने काममा सरकारले ध्यान दिनुपर्दछ । नालीले सृजना गरेको फोहोरको व्यवस्थापन गर्ने काम सरकारले गर्नुपर्दछ ।

अत्तरिया चोक वरिपरि करिब डेढ किलोमिटर नाला जताततै भत्किएका कारण अत्तरिया बजारको पानी निकास हुन पाएको छैन । बजारक्षेत्रका नालाहरु सरसफाई गरी पानी निकास गर्न सके वर्षायाममा पानी जम्ने समस्या हुदैन । जसले बजारलाई समेत सुन्दर देखाउछ । तसर्थ यो विषयमा सरोकारवाला निकायले विशेष पहलकदमी चाल्नुपर्दछ ।