खाेज्नुहाेस

अस्पतालमा पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर

Image

मानिस बिरामी भएपछि मात्रै अस्पताल जान्छ । स्वास्थ्य जटिलताका कारण या भनौ स्वास्थ्यमा समस्याका कारण अस्पताल जाने मानिसहरुले उपचार पाउन पालो कुर्नुपर्दा बिरामीको हालत कस्तो बन्छ होला ? नेपालका प्रायजसो अस्पतालहरुमा सो समस्या छ । अस्पतालमा उपचार गर्न जाने विरामीहरुले घण्टौसम्म लाईन लागेर पालो कुर्नुपर्दछ । उपचार गरिने ठाउँमा पनि लाइनमा लाग्नुपर्ने झण्झटका कारण मात्रै पनि कतिपय विरामीहरु अस्पताल जान मन लगाउदैनन् । अस्पतालको सेवा सुविधा छिटो छरितो पाईने भए, सम्भव त नेपालले स्वास्थ्य क्षेत्रमा प्रगती गर्न सक्थ्यो होला । दुर्भाग्य भनौ, हालसम्म पनि नेपालमा सो समस्या यथावत छ ।

उखानै छ, आज म¥यो भोलि ओखती ! अर्थात् बिरामी भएकै बेलामा ओखतीमूलो हुँदैन भने त्यसको कुनै अर्थ हुँदै । जीवनै पनि सकिन्छ । आखिर उपचार र ओखतीमूलो भनेको जीवन रक्षाका लागि नै हो । तर उपचार बेलामा नपाउने समस्या नेपालका प्रमुख अस्पतालहरूमै छ ।

attariya hospital
navjiwan hospital

अस्पतालमा पालो कुर्नुपर्ने समस्याको मुख्य कारण जनशक्ति अभाव हो । त्यसका साथै उपकरण अभावका कारण पनि सो समस्या निम्तिने गरेको छ । स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसार दक्ष जनशक्तिको मात्रा भए, आवश्यक औजार उपकरणहरु उलपब्ध भए, सम्भवतः पालो कुर्नुपर्ने, सोही कारण कसैले ज्यानै सम्म गुमाउनुपर्ने अवस्था आउने थिएन होला ।

निःशुल्क स्वास्थ्य सेवा दिने भन्दै खोलिएका सरकारी स्वास्थ्य संस्थाहरुको हालत दिनप्रतिदिन खस्किदै गईरहेको छ । त्यस्ता स्वास्थ्य संस्थाहरुमा निगरानीको अभाव छ । विरामीको समस्या, उनिहरुको सास्तीका बारेमा कसैले बुझ्न खोज्दैन । जसले गर्दा बिरामीहरुले सरकारी अस्पतालहरुमा बढी दुःख पाउने गरेका छन ।

संविधानले मुलुकलाई समाजवादउन्मुख भन्छ । तर हालत अर्कै छ । समाजवादमा त स्वास्थ्यका लागि जनताले यति बिघ्न दुःख खेप्नु नपर्ने हो । अझै स्वास्थ्यका सबै सुविधा र सेवा सरकारले निःशुल्क नै दिनुपर्ने हो । यहाँ त बिमा गरेका बिरामीले पनि औषधोपचार पाउँदैनन्, पैसा तिरेर सेवा लिन्छु भन्दा पनि सरकारी अस्पतालमा सास्ती छ ।

त्यसैले यस्ता समस्याको समाधानका लागि सरकारले स्वास्थ्यमा बढी बजेट विनियोजन गरी आवश्यकता अनुसारका दक्ष जनशक्तिहरु प्रदान गर्न सक्नुपर्दछ । स्वदेशमा प्रतिफल पाउने सम्भावना नदेखि विदेशीन बाध्य बनेका जनशक्तिहरुलाई स्वदेशमै काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्दछ । सबै सरकारी अस्पताललाई पूर्वाधार, उपकरण र जनशक्तिले भरिपूर्ण बनाउन सके स्वास्थ्य क्षेत्रका धेरै जसो जटिलता वा समस्याहरु समाधान हुन सक्छन । मानिसका लागि स्वास्थ्य पहिलो प्राथमिकता हो । त्यसैले स्वास्थ्यका क्षेत्रमा सरकारले बढी बिचार पु-याउनुपर्दछ ।