अहिले दिनहुँ जसो दुर्घटनाका समाचारहरू आइरहेका छन् । लामो दुरीका सवारी साधन देखी विमानहरू समेत लगातार दुर्घटना भइरहेका छन् । वर्षाको मौसम सुरु भए यता मात्रै सवारी दुर्घटनाका कारण सयौँले ज्यान गुमाई सकेका छन् । त्यो क्रम अझै रोकिएको छैन ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा आधा दुर्घटना मोटरसाइकल मात्रै रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ३ सय ९ वटा सडक दुर्घटना भएका छन् । जसमा आधा मोटरसाइकल रहेका छन् ।

३०९ सडक दुर्घटनामा सबैभन्दा बढी २०७ मोटरसाइकल दुर्घटनामा परेका छन् । सडक दुर्घटनामा ५० वटा जिप र कार, ४० ट्याक्टर, २४ बस, १९ ट्रक, ट्याम्पो १७, टिपर ९, माइक्रो ७, डोजर ३ र ३० अन्य सवारी साधन परेका छन् । उक्त दुर्घटनामा परेर १ सय ७२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १३७ पुरुष, २३ महिला, ७ बालक र ५ बालिका रहेका छन् । दुर्घटनामा परेर ५ सय ३६ जना घाइते भएका छन् । जसमध्ये २६७ जना गम्भीर घाइते भएका छन् भने २६९ जना सामान्य घाइते भएका छन् ।

यसरी हेर्दा सुदूरपश्चिममा पनि दुर्घटनाको अवस्था भयावह देखिन्छ । दुर्घटना हुने बढी कारणका रूपमा ट्राफिक नियमको उल्लङ्घनलाई लिने गरिएको छ । प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजार चार सय ७९ जना सवारी चालक कारबाहीमा परेका छन् ।
सडक दुर्घटनाको प्रमुख कारकका रूपमा रहेको ट्राफिक नियम उल्लङ्घनमा पनि कमी आउन सकेको छैन । जसका कारण दुर्घटना पनि बढ्दै गइरहेका छन् । त्यसबाहेक जीर्ण सडक, सवारी साधनको अवस्था, तीव्र गति लगायतले पनि दिनहुँ दुर्घटना निम्त्याईरहेको छ । आधुनिक पूर्वाधारको अभाव हुनु, प्रविधि तथा आवश्यक संयन्त्रहरू नहुनु लगायतले विमान दुर्घटना बढाइरहेको छ ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्न साढे ६ हजार पटक जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको जनाएको छ । त्यति मात्रै नभई ट्राफिक प्रहरीले लामो रुटमा चल्ने सवारीसाधनमा चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेट र नयाँ सवारी चालक अनुमति लिने व्यक्तिलाई सम्बन्धित ठाउँमा सडक सुरक्षा सम्बन्धी जनचेतना जगाउने काम गरेको समेत बताइन्छ । तर दुर्घटनाको अवस्था ज्यूँ का त्युँ छ । मानिसको सहजताका लागी सञ्चालित यातायातका साधनहरूले नै अकालमै मानिसको ज्यान लिइरहेको अवस्था छन् भने कतिपय मानिसहरूले अपाङ्गता बनेर बस्नुपरेको छ ।
सवारी चालकले सवारी साधनको अवस्था र सडकको अवस्था बुझेर ट्राफिक नियमको पालना गर्दै सवारी चलाए सडक दुर्घटनाका घटनामा कमी ल्याउन सकिन्छ । त्यसका साथै दुर्घटनाको जोखिमलाई कम गर्न सडक पुर्वाधारहरुको मर्मतमा ध्यान दिइनुपर्दछ । आवश्यक स्थानमा चेक पोस्टहरू राख्ने तथा सवारीको गति कम गर्ने गर्दा दुर्घटनामा केही कमी आउन सक्छ । विमानहरूको हकमा सञ्चारको विषयलाई विशेष महत्त्व दिइनुपर्दछ ।
त्यसका साथै विमानलाई सुरक्षित पार्ने किसिमका प्रविधिहरू जोडिन जरुरी छ । दुर्घटनाका कारण पछिल्लो केही महिना यता मात्रै सयौँ व्यक्तिहरूले ज्यान गुमाई सकेका छन्, त्यसैले यसमा कमी ल्याउन जरुरी छ ।

















