खाेज्नुहाेस

भ्रष्ट्राचार नियन्त्रण गर

Image

कुनै पनि व्यक्तिले आफ्नो पदीय मर्यादा विपरीत गर्ने सबै किसिमका गैर कानुनी र अनैतिक क्रियाकलापहरू लाई भ्रष्टाचार भनिन्छ । आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक एवं नैतिक दृष्टिले असल मार्गको अनुसरण गर्नु सदाचार भएजस्तै आर्थिक अपचलन, सांस्कृतिक दृष्टिले विचलन, दैनिक जीवनमा गलत आचरण र व्यवहार प्रदर्शन, कसैप्रति दुराग्रहपूर्ण व्यवहार, असभ्य शैली र प्रस्तुति, अरूप्रति कुभलो चिताउनुजस्ता क्रियाकलाप र आचार सबै भ्रष्टाचारभित्र पर्दछन् । नियम वा कानुनविरुद्ध नैतिक पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुस खोरीको काम नै भ्रष्टाचार हो । त्यसैले भ्रष्टाचार गर्नु जघन्य अपराध हो । यो सार्वजनिक हित र नैतिकता विपरीत हुने खराब आचरणपूर्ण कार्य हो ।

पछिल्लो समय अल्पविकसित तथा अविकसित देशको प्रमुख समस्याको रूपमा भ्रष्टाचार रहेको छ । नेपालका पनि हरेक निकायहरू भ्रष्टाचार तथा अनियमिततामा फसेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्दै आइरहेको करप्सन परसेप्सन इन्डेक्समा नेपाल अति भ्रष्ट मुलुकको सूचीमा निरन्तर परिरहेको छ । सन् २००४ देखि ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गर्दै आइरहेको सूचकाङ्कलाई हेर्ने हो भने नेपाल संसारका अति भ्रष्टाचार हुने र द्रुतगतिमा भ्रष्टाचार बढ्ने देशहरू मध्येमा पर्दछ । नेपाल दक्षिण एसियामा अफगानिस्तान पछिको अति भ्रष्ट देश हो ।

attariya hospital
navjiwan hospital

भ्रष्टाचार कारणले भन्दा प्रवृत्तिले हुन्छ । यो शक्ति, अवसर, ओहोदा, इज्जत र सम्पत्तिको लोभमा गर्ने गरिन्छ । नेतृत्व सक्षम नहुँदा पनि भ्रष्टाचार बढ्छ । उच्च चरित्र नभएका व्यक्तिहरू नै उपदेश र आदर्श सिकाउने ओहोदामा पुग्दा नैतिक आचरणमाथि उपेक्षा हुन्छ र भ्रष्टाचार भित्रभित्रै मौलाउँछ । भ्रष्ट्राचारको मुख्य कारण नै उच्च ओहदामा बसेको व्यक्तिले नीति नियमको अवहेलना गर्दा हुने गर्दछ । उच्च ओहोदामा रहेको व्यक्तिले नीति नियमको पालना गरे, कानुनी रूपमा आफू दह्रो रूपमा उत्रिए सम्भवत कुनै पनि क्षेत्रमा तल्लो तहका व्यक्ति एवम् कर्मचारीहरूले भ्रष्ट्राचार गर्न पाउँदैनन् । तसर्थ त्यसको मुख्य जिम्मेवारी उच्च ओहोदामा रहेको व्यक्तिले लिनुपर्ने हुन्छ ।

राज्य संयन्त्र तथा राजनीतिक वृत्तबाटै भ्रष्टाचारीलाई संरक्षण दिने काम भइरहेको छ । राजनीतिक दलसँगको आबद्धता, विचार र राजनीतिक सिद्धान्तलाई हेरेर भ्रष्टाचारलाई परिभाषित गर्न थालिएको छ । यसले भ्रष्टाचारलाई संस्थागत हुन सहयोग गरेको छ । पैसा, पद र पहुँचले अधिकारीहरूलाई प्रभाव पार्ने र त्यसबाट फाइदा लिने संस्कृतिले भ्रष्टाचार नियन्त्रणको काम प्रभावकारी रूपमा अगाडी बढ्न सकेको छैन । भ्रष्टाचारकै कारण गरिब जनता झनै गरिब र पीडित बन्दै गइरहेका छन् भने विकास–निर्माणको काममा अवरोध उत्पन्न भएको छ ।

यसै कारण मुलुकले निकास पाउन सकिरहेको छैन । भ्रष्ट्राचारले अन्त्यमा राज्यलाई नै खोक्रो बनाउनेछ । तसर्थ भ्रष्ट्राचारको नियन्त्रण अपरिहार्य छ । भ्रष्ट्राचारले लिप्त बनेको समाजमा यो निकै ठुलो चुनौतीपूर्ण कार्य हो । यो एकाध वर्षमा समाधान गर्न सकिने विषय होइन, तथापि राज्यले रणनीतिक योजनाका साथ काम गर्दा असम्भव छैन । समाज र देशको बृहत्तर विकास चाहने हो भने भ्रष्ट्राचार उन्मुलन हुन जरुरी छ । त्यसका लागि सरोकारवाला तहबाट हर सम्भव प्रयास आजैदेखि गर्न आवश्यक छ ।