महेन्द्रनगर – नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ । नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो ।

बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमूना अभ्यास गरिएको बताए । ‘महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा प्राकृतिक विपद् व्यवस्थापनका लागि एकत्रित भएका छौैँ’, सेनानी शाहीले भने । उनले विपद्मा उद्धार गर्नका लागि सेनाको प्राविधिक टोली आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने गरेको जानकारी दिए । नमूना अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले संयुक्त अभ्यास देखाएका थिए ।

त्यसैगरी, कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदीको किनारको क्षेत्र बाढी तथा विपद्को जोखिममा रहेकाले स्थानीय नागरिक वर्षातका बेला सजग हुनुपर्नेमा जोड दिए ।
उनले महाकाली नदीमा पौडी खेल्ने, रमाइलो गर्ने क्रममा धेरै नागरिकहरुले ज्यान गुमाउनुपरेको भन्दै बोहराले वर्षातका बेला ज्यान जोखिममा राखेर बाढीको भेलमा दाउरा सङ्कलन लगायतका गतिविधि गर्न नहुने बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी मदन कोइराला र श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सेनाको उक्त नमूना अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाको पनि सहकार्य थियो ।
















