धनगढी – कैलालीको धनगढीबाट प्रहरीले १४५ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–९ बङराकटानका २७ वर्षीय निराजन ठगुन्ना र भारतको लखिमपुर जिल्ला पलियाका २८ वर्षीय रिङ्गल गुप्तालाई ठूलो परिणाममा लागू औषध सहित पक्राउ गरिएको हो ।

लागुऔषध ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरूलाई बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोक–जुगेडा सडकखण्डबाट पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरूको साथबाट १४५ ग्राम खैरो हेरोइन सहित एउटा मोटरसाइकल बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

















