खाेज्नुहाेस

सुरक्षा घेराभित्र मुख्यमन्त्री शाहले गरे लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन

Image

धनगढी– कैलालीको लम्कीचुहा प्रादेशिक अस्पतालको उद्घाटन गरिएको छ । बिहिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अस्पतालको उद्घाटन गरेका हुन् ।
यसअघि नगर प्रमुख सुशिला शाहीको अवरोधपछि अस्पतालको उद्घाटन रोकिएको थियो । यसपटक पनि उद्घाटन नगर्न आग्रह गर्दै आएकी नगरप्रमुख शाहीको विरोधका बीच प्रदेश सरकारले कार्यक्रम सम्पन्न गरेको हो ।

नगर प्रमुख सुशीला शाही अजरबैजान भ्रमणमा रहेका बेला मुख्यमन्त्री शाहले अस्पताल उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नगर उपप्रमुख जुना चौधरी सहभागी भएकी थिइन् । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामेश्वर चौधरीलगायतको उपस्थिति थियो ।

attariya hospital
navjiwan hospital

सम्भावित अप्रिय घटना रोक्न भन्दै अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो । नगर प्रहरीलाई भने नेपाल प्रहरीले ‘छेकबार’ लगाएको थियो । बाक्लो सुरक्षा व्यवस्थाका बीच अस्पताल उद्घाटनपछि औपचारिक कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नगर प्रमुखको अनुपस्थितिप्रति टिप्पणी गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका थिए ।

मेयर शाहीले प्रदेश सरकारले जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको आरोप लगाउँदै विरोध गर्दै आएकी छन् । तर यसअघि उनले नै १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पताल बनाउने प्रस्तावमा सहमति दिएकी थिइन् ।

संघीय सरकारले सोहीअनुसार लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । तर सम्झौताविनै प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै मेयर शाहीले आपत्ति जनाउँदै आएकी छन् । निर्णय रोक्न मेयर शाही सर्वोच्च अदालत पुगेकी थिइन् । तर स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने भन्दै सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया अघि बढाएको हो ।