खाेज्नुहाेस

ठेकेदारको गल्ती ढाकछोप नगर

Image

कैलालीको गोदावरी नगरपालिका – ४ मा गुणस्तरहीन काम भएको भन्दै विवादित बनेको कल्भर्ट भत्काइने भएको छ । ठेकेदारले गुणस्तरहीन सामग्री प्रयोग गरेर रातीको समयमा कल्भर्ट ढलान गर्न लागेको भन्दै स्थानीयले काम रोकेका थिए । त्यसपश्चात् उनीहरूले ल्याब टेस्ट गरेर मात्रै कल्भर्ट निर्माणलाई निरन्तरता दिइनुपर्ने माग गरेका थिए । तत्काल वडाका प्राविधिकले पनि निर्माण सामग्रीको ल्याब टेस्ट गरेर मात्रै काम अगाडि बढाउने बताएका थिए । तर, हाल उक्त कल्भर्ट ल्याब टेस्ट नै नगरी भत्काउन लागिएको छ ।

उक्त कल्भर्ट भत्काउन ठेकेदारलाई नगरपालिकाले पत्र पठाई सकेको अवस्था छ । गुणस्तर हीन भएको काम भत्काएर पुनः निर्माण गर्न लगाउनु एकातिर राम्रो पक्ष भए पनि दोस्रोतिर उक्त निर्माण कार्य गुणस्तर हीन भएको हो वा होइन भन्ने विषयमा ल्याब टेस्ट भने भएको छैन । ल्याब टेस्ट नभईकनै ठेकेदारको गल्ती ढाकछोप गर्नका लागि कल्भर्ट भत्काएर पुनः बनाउन लगाउनु उचित हैन । ठेकेदारले गरेको कामकारबाहीको ल्याब टेस्ट गरेर त्यसको आधारमा निर्णय लिइनुपर्दछ ।

attariya hospital
navjiwan hospital

निर्माणका सवालमा गुणस्तर हीन काम गर्ने ठेकेदारलाई कारबाही गर्न ल्याब टेस्ट अनिवार्य छ । त्यस्ता कार्यहरूमा ठेकेदारका गल्तीहरू ढाकछोप गर्ने काम गरिनु राम्रो होइन । ल्याब टेस्टले गुणस्तर हीन कार्य भएको ठह¥याएमा ठेकेदार कारबाहीको भागीदार हुन्छ । तर ल्याब टेस्ट नै नगरी कल्भर्ट भत्काइँदा त्यसले ठेकेदारको गल्तीलाई प्रशय दिएको आभास हुन जान्छ । स्थानीयहरूले पनि ल्याब टेस्ट नगरी कल्भर्टको ढलान भत्काएर गल्ती ढाकछोप गरी ठेकेदारलाई चोख्याउन खोजिएको आशंका व्यक्त गर्न थालेका छन् ।

उक्त वडामा हाल संघीय सरकार र नगरपालिकाको पचास पचास प्रतिशत लगानीमा बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने करिब ७ किलोमिटर सडक कालोपत्रे र ४ वटा कल्भर्ट निर्माण हुँदैछन । जसको निर्माणका लागि जगदम्बा, मालिका, स्वामी केदारनाथ जेभी सँग ६ करोड ४५ लाखमा ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणको लागि ११ करोडको स्टमेट तयार गरिएको भए पनि तिन वटै कम्पनीले संयुक्त रूपमा करिब ४२ प्रतिशत बिलोमा ठेक्का सम्झौता गरेका छन् । ठेक्का हत्याउनका लागि एकदमै कममा ठेक्का सम्झौता गर्ने ठेकेदारहरूले नाफा आर्जन गर्नका लागि कमसल सामग्रीहरू प्रयोग गर्ने गर्दछन् । जसले गर्दा विकास निर्माणका कार्यहरू गुणस्तर हीन हुने गर्दछन् भने राज्यलाई आर्थिक नोक्सान पनि हुने गर्दछ ।

राज्यको आर्थिक भार कम गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिहरूको हो । त्यसैले स्थानीय सरकारले ठेकेदारको पक्षपोषण गर्ने नभई स्थानीयहरूको माग र आवाजलाई सम्बोधन गर्नुपर्दछ । राज्यलाई नोक्सान हुने कुनै पनि कार्यहरूमा संलग्न नभई त्यस्ता कार्य गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने काममा स्थानीय सरकारले पहलकदमी गर्नुपर्दछ । गोदावरी क्षेत्रमा हालसम्मकै बन्न लागेको लामो सडकका रूपमा पनि लिइएको छ । तर सोही सडकमा गुणस्तर हीन काम हुँदा त्यसको प्रभाव भविष्यसम्म पर्न जान्छ । तसर्थ सरोकारवाला निकायले यस्तो विषयमा विशेष ध्यान दिनुपर्दछ ।