बाजुरा – बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ । मंगलबार जिल्ला खोप समन्वय समितिद्वारा आयोजित एक समारोहमा बिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए ।


जिल्ला खोप समन्वय समिति संयोजक तुलसीराम रोकायाको अध्यक्षतामा भएको घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरी, सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरदत्त तिवारी, नेपाली सेनाका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।
बाजुरालाई पहिलो पटक २०७४ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषाणा गरिएको थियो ।
यस वर्ष पनि जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिईने सबै खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।
१३ वटा रोगहरु विरुद्धको खोप जिल्लाका सबै बालबालिकाहरुले लगाएपछि प्रत्येक वर्षमा ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गर्ने गरिएको बताए ।


















