बझाङ – बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा आधाभन्दा कम मत खसेको छ । यहाँ ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात ४९.१२ प्रतिशतमात्रै मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनले उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सकिएको बताए । यस क्षेत्रमा नेपाली काँग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिहको गत असारमा दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनको मतगणना भने आईतबारबाट मात्रै सुरु गरिने जनाइएको छ । मतपेटिका केन्द्रीकृत गर्न समय लाग्ने देखिएकाले मतगणनामा ढिलाइ हुने भएकोले मतदान भएको दोस्रो दिनबाट मतगणना गर्न लागिएको हो ।

दुर्गम स्थानमा रहेका कम्तिमा तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्ने, तर मौसम खराब रहेकाले तत्काल ल्याउन नसकिने अवस्था रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले बताएका छन ।















