मोहना अत्तरिया ६ लेन सडकको डिजाइन अनुसार नै राखिएका डिभाइडर हटाउन स्थानीयको चर्को दबाब छ । सोही दबाबका बिच धनगढी क्षेत्रमा राखिएका डिभाइडर हटाइसकिएका छन् । तर, गोदावरी नगरपालिकामा भने अझै सडक किनारामा डिभाइडर यथावत् छन् ।

आवश्यक नै नभएको ठाउँमा डिभाइडर राखिएकाले दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरी अधिकारीहरूले बताउँदै आएका छन् । सडक किनारामा साना सवारी साधन सञ्चालनका लागि डिजाइन गरेर डिभाइडर राखिएको भए पनि हाल सो क्षेत्रमा ठुला सवारी साधन पार्किङ गरिँदै आएको छ ।

डिभाइडर सँगै आवश्यक अन्य पूर्वाधार सडक लाइट, पार्किङ, ट्राफिक लाइट निर्माण नगरिँदा हाल तिनै डिभाइडरका कारण दुर्घटनाको जोखिम बढेको आम बुझाइ छ । पछिल्लो समय डिभाइडरमै ठोक्किएर धेरै दुर्घटना पनि भएकाले यसलाई हटाउन माग गरिँदै आएको छ । तर, ठुलो लगानी गरेर निर्माण गरिएका डिभाइडर हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले भने आनाकानी गर्दै आएको छ ।

संघीय सरकार मातहत रहेको यो सडकमा धनगढीले भने आफै डिभाइडर हटाएकाले अहिले एउटै सडक दुई मापदण्डको बनेको छ । जसले गर्दा दुर्घटनाको झन् जोखिम बढेको छ । एकातिर डिभाइडर राखेर अर्कोतिर नराखिँदा चालक झुक्किने सम्भावना पनि त्यतिकै छ । गोदावरी नगरपालिका क्षेत्रमा सडक बत्ती समेत नभएकाले रातिको समयमा दुर्घटनाको जोखिम बढी भएकोले यसलाई हटाउन आम जनताको माग अनुसार नगरपालिका अघि बढ्न आवश्यक देखिन्छ ।