खाेज्नुहाेस

चीनीमा आत्मनिर्भर बन्ने वातावरण सृजना गर

Image

एक समय उखु उत्पादन गर्ने किसानहरू बढी थिए, उखु मिलहरूमा उखुको अभाव हुने गरेपछि किसानहरूले उखु खेती गरेर जीविकोपार्जन गर्ने भन्दै उखु खेतीमा ध्यान दिएका थिए । उखु खेती गर्ने किसानहरूले उखुको उत्पादन र बजारको मागका आधारमा राम्रै आम्दानी हुने सपना देखेका थिए । तर सरकारले किसानहरूका समस्या सम्बोधन गर्न नसक्दा अहिले उखु किसानहरू पीडामा परेका छन् । उनीहरूले उखुको उचित मूल्य नपाएर बेच्दा पनि पालो पर्खनुपर्ने बाध्यता आउन थाल्यो । उखु मिलहरूमा उखु व्यापारीहरूको मात्रै हालीमुहाली रहँदा किसान थप पीडित हुन थालेका छन् । जसका कारण उखु उत्पादन गर्ने किसानहरूको संख्यामा दिनानुदिन गिरावट आउन थालेको छ ।

उखु किसानको मर्का सरकार र चिनी उद्योगी कसैले नबुझ्दा तराईमा उखुको खेती निरन्तर घट्न थालेको छ । उखु उत्पादन बढाएर देशलाई चिनीमा आत्मनिर्भर बनाउनु पर्नेमा उखु किसानको समस्या कुनै पक्षले नबुझ्दा तराईमा हरेक वर्ष उखुको खेती घट्दै गएको देखिएको छ । जसका कारण हरेक वर्ष उखुको खेती सुक्दै गएको छ । उखुको खेती सुक्दै जानाले सुगर मिलहरू धमाधम बन्द हुने अवस्थामा आउन थालेका छन् । कच्चा पदार्थको अभाव हुन थालेपछि मिलहरू बन्द गर्नुपर्ने अवस्था अहिले सञ्चालकहरूलाई छ । सोही समस्या कञ्चनपुरमा रहेको महाकाली सुगर मिलको छ । मिलले उखु पर्याप्त मात्रा आपूर्ति नआएकोले मिल बन्द गर्ने अन्तिम सूचना समेत जारी गरिसकेको छ । चैत्र ५ गते देखि मिल बन्द हुने भन्दै मिलले कहीँ कतै उखु बाँकी भए मिलमा सप्लाइ गर्न किसानहरूलाई सूचित गरेको छ । पटक पटक सूचना जारी गर्दै मिलले उखु किसानहरूलाई कच्चा पदार्थ ल्याउन आग्रह गरिरहेको भए पनि उखु उत्पादक किसानको संख्यामा कमी आउँदा मिलहरूले कच्चा पदार्थ पाउन छाडेका छन् ।

attariya hospital
navjiwan hospital

उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनामा आम्दानी नहुँदा हरेक उखु किसान र उखु उत्पादन घट्दै गएको आकलन गरिएको छ । सरकार र चिनी उद्योगीको सेटिङमा उखुको मूल्य निर्धारण हुँदा जहिले पनि किसानलाई मर्का हुने गरी र उद्योगीलाई फाइदा हुने गरी काम गरिँदै आएको छ । सरकार र उद्योगी मिलेर उखुको मूल्य घटाउने तथा चिनीको मूल्य बढाउने खेल हुँदा उखु खेती सुकेको किसानहरूले आरोप लगाउन थालेका छन् ।

वर्ष भरी मेहनत गरेर उब्जाएको उत्पादनको मूल्य नपाइने डरले पनि किसानहरू चिनी मिलहरूमा एकदमै सस्तो मूल्यमा उखु बेच्न बाध्य छन् । जसको फाइदा व्यापारी र उद्योगीहरूले लिई रहेका छन् । सरकारले देशलाई चिनीमा आत्मनिर्भर बनाउनका लागि उखु व्यवसायीहरूलाई प्रोत्साहन गर्नुको साटो उखु व्यवसायीहरूका समस्या समाधान गर्न नसक्दा उखु उत्पादन घट्दै गइरहेको छ भने चिनीको आयात बर्सेनि बढ्दै गइरहेको छ । सरकारको लाचारीपन, व्यापारी र उखु उद्योगीको मिलेमतोका कारण किसानहरूले थप पिडा भोग्दै आएका छन् । खेतमा काटेर राखेको उखु सुक्न लाग्दा समेत उखु उद्योगीले व्यापारीहरूसँगको साटगाठका कारण मतलब नगर्ने गरेका कारण वर्षेनी घाटा हुन थालेपछि उखु किसानहरू पलायन हुन थालेका छन् । उखु किसान पलायन हुँदा अहिले त्यसको प्रत्यक्ष असर उखु उद्योगीहरू र सरकारमा परेको छ । चीनीमा आत्मनिर्भर बन्नुपर्नेमा भएका उद्योगहरू पनि कच्चा पदार्थको अभावका कारण बन्द हुने अवस्थामा पुगिसक्दा सम्म सरकारले तदारुकता देखाउन सकेको छैन । जसका कारण उखु किसानको संख्या मात्रै नभई उखु मिलको संख्यामा पनि कमी आएको छ ।

नेपालमा उखुको राम्रो उत्पादन हुन्छ । उखु मिलहरूमा मागका आधारमा पर्याप्त रूपमा कच्चापदार्थ पु¥याउनका लागि यहाँ उखु उत्पादन गर्न सकिन्छ र भएको पनि छ । तर सरकारले त्यसका लागि उखु किसानहरूका समस्या समाधान गर्नुपर्दछ । उखु किसानहरूलाई उचित मूल्य दिने, बजार दिने र व्यवस्थापन गर्ने काम गर्न सक्यो भने देश चीनीमा आत्मनिर्भर बन्नुका साथै बाहिर पनि निर्यात गर्न सक्छ । तसर्थ प्रत्यक्ष रूपमा लाभ लिन सकिने कुराहरूमा सरकारले ढिलाइ गर्नुहुँदैन । देशलाई चीनीमा आत्मनिर्भर बन्ने वातावरण सृजना गर्न सरकार अग्रसर बन्नुपर्दछ ।