कैलालीको गोदावरी नगरपालिकामा विभिन्न पर्यटकीय क्षेत्रहरू रहेका छन् । बढी चलनचल्तीमै रहेका गोदावरी धाम, मष्टाधाम, मछेली खोला, भल्का, लामीताल लगायतका पर्यटकीय क्षेत्रहरू यहाँ रहेका छन् । तर केही यस्ता स्थानहरू पनि छन्, जसको नाम सुनिए पनि गुमनाम जस्तै बनेका छन् । त्यसमध्ये नगरपालिकाको वडा नं. १२ मा रहेको नायल ताल पनि एक हो । नायल ताल धार्मिक एवम् ऐतिहासिक महत्त्व को क्षेत्र हो । कैलाली, कञ्चनपुर र डडेलधुराको सीमा क्षेत्रमा रहेको उक्त ताल झन्डै एक किलोमिटर लम्बाइको छ भने ३ सय ४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वर्षभरि कञ्चन पानी रहने ताल धार्मिक दृष्टिकोणबाट समेत महत्त्वपूर्ण मानिन्छ ।
प्राचीन कालमा गणपति राजा र देवता बिचको लडाइको पुरातत्वका रूपमा नायल ताललाई लिने गरिएको छ । राजाले मासु बिना खाना नै नखाने र जंगलका जनावरहरू सकिए पश्चात् सेनाहरूले मानिस काटेर भए पनि राजाको भोक मेटाउने गरेको इतिहास नायल क्षेत्रका जानकारहरूले बताउने गरेका छन् । त्यसपश्चात् मानिसको मासु खान पल्केको राजालाई दैनिक जसो मानिस मारेर दिँदा गाउँ नै सखाप हुने अवस्था आएपछि गाउँका दुई जना महिलाले देवतालाई बोलाएको र देवता र राक्षस बनिसकेको राजाको लडाई भएको स्थान नायल ताल हो ।
राक्षस बनिसकेको राजालाई मार्न घण्टेश्वर देवतालाई बोलार्ईएको बताइन्छ । नायलमा नर अर्थात् मानिसको रक्षाका लागि देवतासमेत राजासँग लडेको र उक्त लडाइँमा मानिस र देवताको विजय भएको किंवदन्ती छ । त्यति मात्रै नभई नायल तालको अर्को विचित्रको इतिहास रहेको समेत छ । नायल ताल भएर आवत जावत गर्ने बटुवाहरूका लागि तालबाट खिरको भाँडो बाहिर आउने गरेको तर एक दिन तालमा भिखारीले खाएको जुठो फालेपछि भने खिर आउन छाडेको पनि किंवदन्ती छ । यस्तो विचित्र इतिहास भएको नायल ताल हाल संरक्षण अभावमा ओझेलमा छ । विगतमा सुदूरपश्चिम डोटी राज्य हुँदा मुगल दरबारका रूपमा परिचित गाउँमा रहेको नायल तालको अस्तित्व अहिले गुम्दै गइरहेको छ ।
चारैतिर डाडाँकाडाले घेरेको बडो आकर्षकका रूपमा देखिने नायल तालमा सरकारको ध्यान पुग्न सकेको छैन । प्राकृतिक सौन्दर्यताले भरिभराउ भए पनि संरक्षण र संवर्द्धन नहुँदा तालको अस्तित्व गुम्दै गएको छ । बर्खामा डाडाँहरुबाट आउने भेलले बर्सेनि ताललाई पुर्दै लगिरहेको छ । त्यति मात्रै नभई बर्खाको भेलका कारण तालमा पानीको बहाव बढी हुँदा तालको बाँध समेत भत्किने गरेको छ । जसका कारण तालमा भएको पानी पनि कम हुँदै जान थालेको छ ।
नायल एक विचित्र इतिहास बोकेको ताल हो । उक्त तालको संरक्षण र संवर्द्धन भए त्यहाँ पर्यटकीय विस्तार एकदमै तीव्र मात्रामा हुन सक्छ । नायल तालको नत राम्ररी संरक्षण हुन सकेको छ नत प्रचार प्रसार नै । भौगोलिक विकटताका कारण अझै पनि उक्त ठाउँमा आवतजावत गर्न सकिने अवस्था छैन ।
पर्यटकीय हिसाबले नगरकै सबैभन्दा उत्कृष्ट क्षेत्रका रूपमा रहेको नायल तालको प्रचार प्रसार गरी यसको संरक्षण संवर्द्धन गर्न सके नगरका लागि पनि आम्दानीको स्रोत बन्न सक्छ । स्थानीयहरूले रोजगारी पाउन सक्छन्, नायलको विकास हुन सक्छ । तसर्थ यस्तो कुरामा ढिलाइ गरिनु हुँदैन । नायलको विकासका लागि बनाइएको डिपिआर बमोजिम यथाशक्य रूपमा काम थालिन जरुरी छ । त्यसका लागी सर्वप्रथम स्थानीय सरकार अग्रसर बन्न आवश्यक छ ।

