सुदूरपश्चिममा मातृमृत्यु भयावह बन्दै गइरहेको छ । विगत एक दुई वर्षयता प्रदेशमा मातृमृत्युको अवस्था चिन्ताजनक रुपमा बढ्दै गइरहेको छ । देश आधुनिकता तिर लम्किएसँगै स्वास्थ्य क्षेत्रमा पनि विगतको तुलनामा केही सुधार भएको अवस्थामा मातृमृत्युदर भने दिनानुदिन बढ्दै जान थालेको हो ।
लगातार रुपमा बढ्दै गइरहेको मातृमृत्युदरमा अझै कमी आउन भने सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म १३ मातृमृत्यु भैसकेको छ । आर्थिक वर्षको अन्त्य सम्म अझै उक्त संख्या बढ्न सक्ने आंकलन छ । उक्त संख्यामा पनि २ जना गर्भवतीको मृत्यु भएको थियो भने सुत्केरीपश्चात ५ जनाको मृत्यु भएको छ । यस्तै सुत्केरी अवधिमा एक र संस्थामा हुने मातृमृत्यु संख्या ५ जना रहेको छ । जसमा कञ्चनपुर, डोटी, बैतडी, बझाङ र बाजुराका एक/एक जना रहेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ मा भएको मातृमृत्यु संख्या २१ रहेको थियो भने २०७९/०८० मा यो संख्या ह्वात्तै बढेको २५ पुगेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा मातृमृत्यु संख्या सबैभन्दा बढी कैलालीमा छ । जिल्लामा सो अवधिमा ६ जना गर्भवती तथा सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य क्षेत्रमा प्रदेशकै विकसित जिल्लाका रुपमा रहेको कैलालीमा पनि उक्त संख्यामा मातृमृत्यु हुनुले मातृस्वास्थ्यको बारेमा अझै नागरिकमा सचेतना पुग्न सकेको छैन भन्ने कुरा दर्साएको छ । प्रदेशका पहाडी जिल्लाहरूमा विकट क्षेत्र हुँदा, सहज स्वास्थ्यको पहुँच नहुँदा र परम्परागत रितीरिवाजहरुको कारणले गर्दा मातृमृत्यु हुन सक्ने भए पनि तराईका जिल्लाहरूमा माथि उल्लेखित सबै सुविधाहरू हुदाँहुदै पनि मातृमृत्यु बढ्नुको कारण बुझ्न जरुरी छ ।
गर्भवती महिलामा अस्पताल तथा स्वास्थ्य संस्थाहरु कुन ठाउँमा छन्, स्वास्थ्य संस्थामा जानुपर्छ, चेकजाँच गराउनुपर्छ भन्ने चेतना आउन जरुरी छ, वहाँहरु स्वयं जागरूक हुन जरुरी छ । अर्को कुरा यो सबै कुरा थाहा हुँदाहुँदै पनि भौगोलिक विकटता, सडक यातायातको असुविधा आदिका कारण पनि मृत्यु भइरहेका हुन्छन् । त्यसै गरी स्वास्थ्य संस्थाले समयमै उचित निर्णय दिन नसक्दा पनि गर्भवतीको ज्यान जाने गरेका छन् । स्वास्थ्य संस्थाले पनि यस्तो संवेदनशील कुराहरूमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।
मातृमृत्यु कम गर्नका लागि नागरिकमा मातृस्वास्थ्यको बारेमा जानकारी दिन अति आवश्यक छ । त्यसका लागि समुदाय स्तरमा मातृस्वास्थ्यलाई लैजानुपर्दछ । हाल देशमा स्थानीय तहहरू आइसकेपछि नागरिकहरूसँग सरकार एकदमै नजिक बनेको छ । यस्तो अवस्थामा समुदाय स्तरमा मातृस्वास्थ्यलाई लैजान पालिकाहरूले जिम्मेवारी लिनुपर्दछ ।
पालिकामा रहने हरेक नागरिकलाई सहज शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधा पु¥याउने कार्य स्थानीय सरकारको हो । तसर्थ यस्तो कुराहरूमा स्थानीय सरकार कमजोर हुन पाउँदैन । विगतका भन्दा भयावह बन्दै गइरहेको मातृमृत्युमा कमी ल्याउन यसको रोकथामका सबै उपायहरु अविलम्ब रुपमा अवलम्बन गर्न अत्यावश्यक छ ।