कैलालीको अत्तरिया बजार सुदूरपश्चिमकै ट्रान्जिट प्वाईन्टका रुपमा चिनिन्छ । पुर्वपश्चिम दुवै क्षेत्रलाई जोड्ने यो बजारले सुदूरपश्चिमको पहिचान झल्काउने काम गर्दछ । सुदूरपश्चिमलाई समग्र रुपमा अवलोकन गर्न चाहने यात्रु अथवा पर्यटकहरुले अत्तरिया बजार भएर नै पहाडी जिल्लाहरुमा पुग्नुपर्दछ । सुदूरपश्चिमका ९ जिल्लामध्ये ७ वटा जिल्लाहरु पहाडी क्षेत्रमा पर्ने गर्दछन । ति सबै जिल्लाहरुको प्रवेशद्धार अत्तरिया बजार नै हो । अझ त्यसमाथी प्रदेश राजधानी तोकिएको नगरपालिकामा पर्ने भएकाले यसको महत्व अन्यको तुलनामा बढी छ ।

अत्तरिया बजारमा लामो समय देखि ठेला व्यवस्थापनको आवाज उठ्दै आएको छ । ठेला व्यवस्थापनकै मुद्दा चुनावी एजेण्डा समेत बन्ने गरेको छ । पटकपटक ठेला व्यवस्थापनको प्रयास गरिएपनि त्यो दीर्घकालिक भने हुन सकेको छैन । नगरपालिका केही दिन तात्तिने र पछि सेलाउने गर्दा समस्या पुनः बल्झिने गरेको छ । पछिल्लो पटक नगरपालिकाले बजार क्षेत्रमा निश्चित समयमा मात्रै ठेला राख्न दिने र बाँकी समय अत्तरियाको बसपार्क र पूर्व रोडको ट्राफिक पोष्ट अगाडिको क्षेत्रमा मात्रै ठेला राख्न दिने निर्णय गरेको थियो । उक्त नियम केही दिन कार्यान्वयनमा आएपनि पुनः बजार ठेलाले अस्तव्यस्त बन्न थालेको छ ।

बजारलाई व्यवस्थित गर्न बनाइएका मापदण्ड लागू नहुँदा बजार कुरूप बन्न थालेको छ । नगरपालिकाले बजार क्षेत्रमा ठेला राख्न रोक लगाएको समयमा गल्लीको प्रवेशद्धारमै ठेला राखिँदा आवतजावतमा समस्या हुन थालेको छ । नगरपालिकाले बिहान ८ बजे देखि साझँ ५ बजे सम्म बजार क्षेत्रमा ठेला राख्न रोक लगाएको छ । ठेला व्यवस्थापनको लागि नगरपालिकाले नियम बनाएपनि नियमित अनुगमन नगर्दा बजार क्षेत्रमा जताजतै ठेला राख्न थालिएको छ ।

नगरपालिकाले बनाएको नितिनियमको पालना नहुँदा स्थानियहरुले सास्ती खेप्नुपरिरहेको छ । त्यसमा नगरपालिकाले पनि नितिनियमहरुको पालनाका लागि पहलकदमी गर्न सकेको छैन । नगरपालिकाले बनाएको मापदण्ड पालना नगर्ने व्यवसायीलाई कानुनी कारबाही गर्नुपर्दछ । जसले व्यवसायीहरुलाई पनि नितिनियमको अवज्ञा गर्ने आँट आउदैन । बजार व्यवस्थापनको मुख्य जिम्मेवारी नगरपालिकाको भएपनि त्यसमा सहयोगी सबैले बन्नुपर्दछ । तर अरुले सहयोग गरेनन् भन्दैमा आफु पन्छिने काम नगरपालिकाले पनि गर्नुहुदैन । बजार नगरको सुन्दरताको प्रतिक हो । यसले समग्र नगरको सुन्दरता झल्काउने भएकाले बजारको व्यवस्थापन र सुन्दरतामा ध्यान दिन जरुरी छ ।