खाेज्नुहाेस

तालिमलाई रोजगारमुखी बनाउन जरुरी

Image

देशमा स्थानीय तह आएसँगै टोल टोलका महिलाहरूले विभिन्न किसिमका तालिमहरू पाउने गरेका छन । वडा तथा पालिकास्तरबाट आएका विभिन्न सीपमुलक तालिमहरुमा महिलाहरुको सहभागिता पनि उल्लेख्य रुपमा रहने गरेको छ । स्थानीय सरकारले विभिन्न सीपमुलक तालिमहरुका लागि प्रत्येक वर्ष बजेट विनियोजन गर्ने पनि गरेको छ ।

पालिकास्तरबाट बढी जसो सिलाइकटाइ, डल÷कुशन, खाजा नास्ता, प्लम्बीङ्ग, वायरिङ्ग लगायतका तालिमहरु सञ्चालन हुने गरेका छन । जसमा स्थानीय स्तरबाट सहभागिता बढ्दो सहभागीता हुने गरेको छ । पालिकाहरुले स्थानीयहरुलाई सीपमुलक सीपहरू सिकाई उनीहरुलाई आत्मनिर्भर बनाउने योजना लिएर त्यस्ता तालिमहरु आयोजना गर्ने गरेको भएपनि तालिमको सदुपयोग भने धेरै न्यून मात्रामा मात्रै हुने गरेको छ । जसका कारण सरकारले वर्षेनी छुट्याउदै आएको तालिमको बजेट खेर गईरहेको छ ।

attariya hospital
navjiwan hospital

अहिले प्रायजसो वडा तथा पालिकाले सीपमुलक तालिमका लागि बजेट विनियोजन गरिरहेका हुन्छन । तालिमबाट सिकेको सीप मार्फत वडा या पालिकामा रहेका स्थानीयहरुको जीवनस्तर माथि उकास्ने कार्य गरिनु राम्रो भएपनि तालिमका फाईदाहरुको अवस्थाको बारेमा जानकारी नराखिदाँ तालिमहरु औचित्यहिन हुन थालेका छन । वडा तथा पालिकाले दिएका तालिमहरु भन्दा विभिन्न एनजिओ, आईएनजिओहरुले दिएका तालिमहरु बढी प्रभावकारी हुने गरेका छन । त्यसको एउटै मात्र कारण तालिम पश्चातको निगरानी हो । तालिम दिईसकेपछि तालिममा सिकेको सीपले सहभागीहरुले केही कार्य गरेका छन की छैनन्, छन भने कस्तो कार्य गरेका छन, छैनन् भने किन गरेका छैनन् लगायतका विषयमा जानकारी राख्न जरुरी हुन्छ । त्यस्तो कार्यमा पालिका सरकार चुक्ने गरेका छन ।

तालिममा सिकेको सिपले राम्रो व्यवसाय गरी आत्मनिर्भर बनेकाहरुलाई अझै उत्प्रेरित गर्न केही थप सहयोगहरु प्रदान गर्ने र तालिममा सहभागीता मात्रै जनाउने तालिम पश्चात केही नगर्नेहरुलाई अन्य तालिमहरुमा समावेश नै नगर्ने परिपाटी निर्माण गर्न सके तालिमको औचित्य रहन सक्थ्यो होला ।

तर पालिकास्तरबाट सञ्चालन हुने गरेका तालिमहरुमा त्यस्तो हुन सकेको छैन । स्थानीय स्तरमा तालिम सञ्चालन गर्ने एनजिओ, आईएनजिओहरुले विभिन्न शर्तहरु राखेर तालिम आयोजना गरेका हुन्छन् । उनीहरुले तालिम सम्पन्न भैसकेपश्चात सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्य पर्ने सामग्रीहरु प्रदान गर्ने र पटक पटक अवलोकन गर्ने गर्दछन् । जसका कारण सहभागीहरुले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै विभिन्न कार्यहरु गर्ने गरेका छन । पालिकास्तरबाट हुने तालिमहरुमा पनि त्यस्ता किसीमका योजनाहरु अघि बढाउन जरुरी छ । तालिम मात्रै दिएर हुदैन, तालिम दिएपश्चात व्यवसाय सञ्चालनका लागि सामग्री पनि प्रदान गरेर काम गर्ने वातावरण सृजना गर्न जरुरी छ । तालिम र सामग्री पाईसकेपछि पनि काम नगर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने कार्य पनि गर्नुपर्दछ ।

अहिले समाजमा तालिमको नाममा खाजा पाईने र भत्ता पाईने भन्दै जाने गरेका उदाहरणहरु पनि छन । सरकारले जीविकोपार्जनमा सहजता होस भनेर प्रदान गर्ने तालिमलाई मनोरञ्जनका रुपमा मात्रै लिईदा त्यसले प्रतिफल प्राप्त हुने कुरा रहदैन । तसर्थ यस्ता कुराहरुमा सरकारले ध्यान दिन जरुरी छ । सरकारले तालिम दिने मात्रै नभई तालिमपश्चात प्रतिफलको बारेमा पनि जानकारी राख्नुपर्दछ । तालिमलाई रोजगारमुखी बनाउनुपर्दछ ।