मोहना अत्तरिया ६ लेन सडक अन्र्तगत कैलालीको गोदावरी नगरक्षेत्रमा स्ट्रिट लाईट जडान गर्न नगरपालिकाले बजेट भुक्तानी गरिसकेको छ । आफ्नो क्षेत्राधिकार भित्र आवश्यक पर्ने लाईटको कुल लागतको पहिलो चरण अन्र्तगतको रकम नगरपालिकाले भुक्तानी गरिसकेको भएपनि लाईट जडानको प्रकृया भने अझै सुरु हुन सकेको छैन । नगरपालिकाले यही असार २१ गते नेपाल विद्युत् प्राधिकरणलाई ९८ लाख २८ हजार २०० रुपैयाँ भुक्तानी गरेको थियो । तर रकम भुक्तानी भएको ७ महिना भन्दा बढी बितिसक्दा समेत विद्युत जडानको प्रकृया भने सुरु हुन सकेको छैन ।
नगरपालिकाले स्ट्रिट लाईट जडानको लागि नेपाल विद्युत प्राधिकरणको उर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गरेको छ । जसअनुसार स्ट्रिट लाईट जडानको कुल लागतको ६५ प्रतिशत रकम नगरले बेहोर्ने छ भने ३५ प्रतिशत रकम विद्युतले बेहोर्नेछ । नगरले बेहोर्नपर्ने रकमको करिब ५० प्रतिशत रकम विद्युतलाई पठाईसकेको भएपनि जडानको प्रकृया समेत सुरु नहुँदा नागरिक समस्यामा परेका छन । मोहना–अत्तरिया ६ लेन सडकको धनगढी उपमहानगरक्षेत्रमा स्ट्रिट लाईटहरु जडान भैसकेका छन ।

राष्ट्रिय सडकबत्ती प्रर्वद्धन आयोजना काठमाण्डौले विद्युत जडानका लागि आवश्यक प्रकृयाहरू पुरा गरिरहेको बताउदै आएको भएपनि काममा भने ढिलाई भएको छ । भुक्तानी भएको ७ महिनासम्म टेण्डर प्रकृया समेत नसकिदा यसको कार्य अझै लम्बिन सक्ने आँकलन गर्न सकिन्छ । आयोजनाले दुई चरणमा टेण्डर आह्वान गर्नुपर्दा ढिलाई भएको बताउदै आएको छ । यसअघि आयोजनाले अन्य पालिकाहरुबाट बजेट भुक्तानी नभएका कारण ढिलाई भएको बताएको थियो । आयोजनाले पटक पटक विभिन्न बाहानाहरु बनाउदै लाईट जडानको प्रकृयालाई अल्झाउने काम गरिरहेको छ ।

लाईट जडानको लागि पोल र लाईट गरी दुई चरणमा टेण्डर आह्वान गरिएको आयोजनाको तर्क छ । जसअन्र्तगत आयोजनाले पोलको टेण्डर आह्वान गरेर अबको केही दिन भित्रै आर्थिक र टेक्निकल मुल्यांकनहरु सक्ने जनाएको छ ।
त्यसपश्चात विद्युत लाईटको टेण्डर प्रकृयाको पनि काम हुने छ । यद्दपी लाईटका लागि पनि टेण्डर भैसकेको र पोलको आर्थिक र टेक्निकल मुल्यांकन पश्चात लाईटको गरिने बुझन्मा आएको छ । प्राधिकरणले आयोजना अन्र्तगत देशका २२ वटा पालिकाहरूको एकमुष्ट टेन्डर आह्वान गरेको छ । यसअघि केही पालिकाहरूले रकम पठाउनमा ढिलाई गरेका कारण टेन्डरमा जान ढिला भएको भएपनि अब भने आयोजनाले टेन्डर प्रकृयामा समय लागेको जनाएको छ । यसअघि माघदेखि सुरु हुने भनिएको निर्माणको कार्य टेन्डर प्रकृयाकै कारण अझै २ महिना पछाडि सरेको छ ।
नगरपालिकाको फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा स्ट्रिट लाइट जडान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण अन्तर्गत राष्ट्रिय सडक बत्ती प्रर्वद्धन आयोजनासँग समन्वय गरी ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ अनुमानित लागतमा ६ लेन सडकमा स्ट्रिट लाइट जडानका लागि सम्झौता गरेको छ । पछिल्लो समय छाडा पशुचौपायाको संख्या बढी हुनु र सडक बत्ती नहुनाले दुर्घटनाका घटनाहरू बढ्दै गइरहेका छन । सडकमा आधुनिक बत्ती जडानले दुर्घटनाको जोखिम घटाउनुका साथै सहरको सुन्दरता समेत बढ्ने हुँदा त्यसको कार्य यथाशिघ्र हुन आवश्यक छ । त्यसैले उक्त कार्यमा ढिलाई नगरी जतिसक्दो चाँडो स्ट्रिट लाईट जडानको प्रकृया सुरु गर्न जरुरी छ ।















