खाेज्नुहाेस

लामिताललाई अभिभावकत्व देउ

Image
फोटो : एनपी प्रोडक्सन

कैलालीको गोदावरी नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्र लामिताल अहिले अभिभावकत्व विहिन छ । नेपाली सेनाको मातहत रहेको भनिएपनि यो ताल संरक्षणका लागि कुनै पनि निकाय जिम्मेवार बनेका छैनन् । प्रर्यटकीय प्रचुर सम्भावना हुँदा हँदै पनि तालमा वर्षमा एक पटक महोत्सवमा डुङ्गा संचालन गर्ने वाहेक कुनै गतिविधि हुदैनन् ।

नगरकै पर्यटकीय महत्व बोकेको ताल दुर्गालक्ष्मी सामुदायिक वनले आफ्नो क्षेत्रमा रहेको भन्दै लिजमा दिएको छ । तर, त्यसबारे वनका पदाधिकरी नै जानकार छैनन् । नगरपालिकाले यो ताललाई पर्यटकीय स्थलका रुपमा विकास गर्नको लागि सेनाले अवरोध गरेको बताउँदै आएको भएपनि वनबाट लिजमा लिएर व्यक्तिगत रुपमा माछा पालनका लागि भने प्रयोग हुँदै आएको छ । ताल क्षेत्र संगै जोडिएको अत्तरिया बसपार्क पनि नेपाली सेनाले आफ्नो भोगाधिकारमा रहेको बताउँदै आएपनि नगरले प्रयोग गर्दा तालको भने बेवास्ता गरिएको छ ।

attariya hospital

यद्यपि लामितालको विकास गर्ने भन्दै आर्थिक बर्ष २०७५/०७६ मा गोदावरी नगरपालिकाले उपभोक्ता समिति मार्फत तालको सरसफाइ, तालको वरपर बाटो निर्माण र तालको वरपर बस्नको लागि १५ ओटा फलामका रेस्ट बेन्च, पानी निकासका लागि रेगुलेटर जडान गरिएको थियो । तर अहिले ति निर्माण गरिएका संरचना पनि जीर्ण बनेका छन ।

navjiwan hospital

शहरीकरणको तिब्र विकास भइरहेको अत्तरिया बजार नजिकै रहेकाले लामिताललाई पर्यटक तान्न सजिलो छ । गोदावरी नगरपालिका – २ मा पर्ने यो ताल अत्तरियाको बषपार्क देखि हिडेरै ५ मिनेटमै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ताल प्रयटकको मुख्य आकर्षणको केन्द्र बन्न सक्नेमा दुईमत छैन ।

नजिकै बसपार्क रहेकाले अत्तरिया भएर आवतजावत गर्ने यात्रुहरुलाई पनि तालमा पुगाउन सकिन्छ । प्रायजसो अत्तरिया भएर जाने बसहरु १/२ घण्टा अत्तरियामा रोकिने भएकाले सो समयमा प्रतिक्षारत यात्रुलाई सजिलै तालसम्म पुगाउन सकिन्छ । यस्तै बजार नजिकै भएकाले अत्तरिया क्षेत्रका स्थानियले यो क्षेत्रकालाई मर्निक वाक, ईभनिङ वाक गर्ने ठाउँका रुपमा पनि प्रयोग गर्न सक्दछन् । तालमा ढुङगा संचालन गरेर पनि पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना पनि उतिकै छ ।

थुप्रै सम्भावना भएपनि तालमा भौतिक पुर्वाधार पनि उतिकै आवश्यक छ । प्राकृतिक रुपमा ताल सुन्दर भएपनि पर्यटनको आकर्षण बढाउन भैतिक पुर्वाधारको विकास पनि उतिकै आवश्यक हुन्छ । तर अहिले भने ताल परिसर सम्म पुग्ने बाटोकै बेजोग छ । जसले गर्दा मानिसहरु चाहेर पनि चालमा जान नाक खुम्च्याउने अवस्था छ ।

अत्तरिया बसपार्क नजिकै रहेपनि अहिले सो तालमा जाने बाटोमा ग्राभेल समेत नगरिदा बाटो हिलाम्मे धुलाम्मे र खाल्डाखुल्डी छन । तालको अवलोकन गर्नको लागि पनि ताल वरिपरीको केही बाटोमा ग्राभेल हालिएको भएपनि बाटो व्यवस्थित बनाउन सकिएको छैन । तालको किनारमा बस्न राखिएका बेन्च पनि थोत्रा भएका छन भने फोहर व्यवस्थापन नगरिदा ताल दुर्गन्धित बनेको छ ।

पर्यटन आकर्षित गर्ने प्रचुर सम्भावना भएपनि अहिले सम्म तालको प्रचार प्रसार र भौतिक पुर्वाधार निर्माणमा ठोस काम नहुँदा अहिले ताल गुमनाम जस्तै बनेको छ । त्यसैले थुप्रै सम्भावना बोकेको लामिताललाई नगरले अभिभावकत्व लिएर पर्यटकी क्षेत्रका रुपमा विकास गर्न आवश्यक छ ।