पछिल्लो समय कैलालीको अत्तरिया क्षेत्र आसपासका सार्वजनिक सम्पत्तिहरु दोहनको चपेटामा परिरहेका छन । सार्वजनिक महत्वका लागि निर्माण गरिएका विभिन्न सम्पदा वरपर स्थानीयस्तरबाटै दोहन भैरहेको छ । मुख्य रुपमा राजनीतिक रुपमा अग्रसर रहेका व्यक्तिहरूबाट नै त्यस्ता कार्यहरू भैरहेका छन । जसले गर्दा दोहनको क्रम बढिरहेको छ । अत्तरिया क्षेत्र वरपर सार्वजनिक स्थानमा निर्माण गरिएका मठमन्दिर, विभिन्न सार्वजनिक सङ्घसंस्थाका भवनहरू र राजमार्ग वरपर तीब्र रुपमा दोहन र जङ्गल अतिक्रमणको काम भैरहेको छ । कहिले सामुदायिक वनमा टहरा निर्माण गर्ने र कहिले सार्वजनिक सम्पत्तिमा कब्जा जमाउने परिपाटी यहाँ मौलाइरहेको छ ।
गोदावरी नगरपालिका वडा नं. १ को कार्यालय नजिकै राजमार्ग किनारमा रहेको सार्वजनिक स्थानमा एक व्यक्तिले आफ्नो व्यक्तिगत भवन निर्माण गरिरहेका छन । वरपर निर्माण भएका सरकारी कार्यालयहरूको बीचमा सरकारी जग्गामै व्यक्तिगत प्रयोजनका लागि पक्की घर निर्माण हुदा समेत सरोकारवाला निकाय भने चुप छ ।


सोही निर्माणाधीन भवनको केही पर विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्र्तगत रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडोर कार्यालय डडेल्धुराले एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माण गरिरहेको थियो । तर उक्त डिभिजन वन कार्यालयले उक्त स्थानमा भवन निर्माण गर्न नमिल्ने भन्दै रोकेको अवस्थामा एक व्यक्तिले निजी प्रयोजनका लागि भने धमाधम रुपमा भवन निर्माण गर्दा पनि डिभिजन बन कार्यालय बोल्न सकेको छैन ।
हाल सो जग्गामा वडा कार्यालय लगायत, नगरको पशु कार्यालय, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक औषधालय लगायतका संरचना निर्माण भइसकेका छन् । त्यस्तै अत्तरिया चौराहा नजिकै रहेको दुर्गामन्दिर छेउमा बुधबार नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय निर्माण गरेको छ ।
दुर्गामन्दिर छेउमा रहेको खाली जमिन पार्टीले विगतदेखि नै चलनभोग गर्दै आईरहेको भन्दै माओवादीले नगरकमिटीको भवन निर्माण गरिरहेको हो । चलनभोग गरेकै भनेकै आधारमा माओवादी केन्द्रले उक्त स्थानमा पार्टी कार्यालय भवन निर्माण गर्दा सत्ताको दुरुपयोग भैरहेको आरोप लाग्न थालेको छ । तत्कालिन समयमा उक्त क्षेत्रमा शहिद भीमदत्त पन्तको सालिक निर्माण गर्ने भन्दै जग्गा छुट्याइएको तत्कालीन समयकै केही नेताहरुले बताउने गरेका छन । सार्वजनिक स्थानमा कुनै अमुक पार्टीको भवन बनाउन नहुने चर्चा चलिरहँदा उक्त क्षेत्रमा भवन निर्माण भैसकेको छ ।
अत्तरिया क्षेत्रका सार्वजनिक स्थानमा केही व्यक्ति र पार्टीगत रुपमा पनि यसरी दोहन भैरहँदा सम्म पनि सरोकारवाला निकाय भने मौन छन । आँखै अगाडि भैरहेको दोहन पनि सरकारी तबरका व्यक्तिहरूले टुलुटुलु हेर्ने सिवाय अरु केही गर्ने गरेका छैनन् । सार्वजनिक सम्पत्ति र त्यसको दोहन गर्नु कानुनी अपराध हो । त्यस्तो दोहन गर्न दिने सरकारी निकायका पदाधिकारीहरू पनि कारबाहीको भागेदारी हुन्छन । त्यसैले सरकारी सम्पत्तिको दोहन गर्ने र सार्वजनिक क्षेत्रमा मनमर्जी रुपमा गरिने दोहनको विरोध गर्न र त्यस्ता दोहनकारीहरुलाई कारबाहीको दायरामा ल्याउन सख्त जरुरी छ ।

















