सरकारले किसानहरुका समस्या सम्बोधन गर्न नसक्दा अहिले उखु किसानहरु पीडामा छन । उनिहरुले उखुको उचित मुल्य नपाएर बेच्दा पनि पालो पर्खनुपर्ने बाध्यता छ । उखु मिलहरुमा उखु व्यापारीहरुको मात्रै हामीमुहाली रहदा किसान थप पीडामा छन । उखु किसानको मर्का सरकार र चिनी उद्योगी कसैले नबुझ्दा तराईमा उखुको खेती निरन्तर घट्न थालेको छ । उखु उत्पादन बढाएर देशलाई चिनीमा आत्मनिर्भर बनाउनु पर्नेमा उखु किसानको समस्या कुनै पक्षले नबुझ्दा तराईमा हरेक वर्ष उखुको खेती घट्दै गएको देखिएको छ । जसका कारण हरेक वर्ष उखुको खेती सुक्दै गएको छ ।
उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक उखु किसान र उखु उत्पादन घट्दै गएको आंकलन गरिएको छ । सरकार र चिनी उद्योगीको सेटिङमा उखुको मूल्य निर्धारण हुँदा जहिले पनि किसानलाई मर्का हुने गरी र उद्योगीलाई फाइदा हुने गरी काम गरिदै आएको छ । सरकार र उद्योगी मिलेर उखुको मूल्य घटाउने तथा चिनीको मूल्य बढाउने खेल हुँदा उखु खेती सुकेको किसानहरुले आरोप लगाउन थालेका छन ।


सुगर मिलमा उखु विक्रिका लागि जाने किसानले रातदिन नभनी लाईनमा लाग्नुपर्ने अवस्था छ । वर्षभरी मेहनत गरेर उब्जाएको उत्पादनको मुल्य नपाईने डरले पनि किसानहरु चिनी मिलहरुमा एकदमै सस्तो मुल्यमा उखु बेच्न बाध्य छन । जसको फाईदा व्यापारी र उद्योगीहरुले लिईरहेका छन । मिलहरुमा उखु बेच्नकै लागि किसानहरु रातभर लाईनमा बस्न बाध्य छन । सरकारले देशलाई चिनीमा आत्मनिर्भर बनाउनका लागि उखु व्यवसायीहरुलाई प्रोत्साहन गर्नुको साटो उखु व्यवसायीहरुका समस्या समाधान गर्न नसक्दा उखु उत्पादन घट्दै गईरहेको छ भने चिनिको आयात वर्षेनि बढ्दै गईरहेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित महाकाली सुगर मिलमा पनि उखु व्यापारीहरुको हालीमुहाली रहेको स्थानीय किसानहरुले आरोप लगाउने गरेका छन । उख बेच्न रातदिन नभई आफुहरुले लाईनमा बस्नुपर्ने तर व्यापारीहरुलाई सिधै प्रवेश दिईने गरिएको उनीहरुको भनाई छ । व्यापारी र उखु उद्योगीको मिलेमतोका कारण किसानहरुले थप पिडा भोग्नुपरेको छ । खेतमा काटेर राखेको उखु सुक्न लाग्दा समेत उखु उद्योगीले व्यापारीहरुसँगको साटगाठका कारण मतलब नगर्ने गरेका कारण वर्षेनी घाटा हुन थालेपछि उखु किसानहरु पलायन हुन थालेका छन ।
उखु किसानले वर्षभरि लगाएर उब्जाएको उखुको मूल्य सख्खर उद्योगले अत्यन्त न्युन राख्ने गरेको छ । आफुले उत्पादन गरेको उखुको मुल्य निर्धारण उद्योगी एवम् व्यापारीले गर्दा किसानलाई नोक्सानी नहुने कुरै भएन । किसान देशको अन्नदाता हो । किसानहरुका समस्या समाधान गर्न सके देश खाद्यान्नका क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ । तसर्थ उखु किसानका समस्याहरु समाधान गरी देशलाई चिनिमा आत्मनिर्भर बन्ने वातावरण सृजना गर्नमा सरकारले ढिलाई गर्नुहुदैन ।

















