खाेज्नुहाेस

साधारण सभालाई नेताका भाषण गर्ने थलो नबनाऔं

Image

कुनै पनि संस्थाका शेयरधनीले आफ्नो हकअधिकार प्रयोग गर्ने तथा आवश्यक पर्दा मतदान गर्न पाउने ठाउँ साधारणसभा हो । तर, पछिल्लो समय विभिन्न संघ संस्थाहरूले आफ्नो वार्षिक रुपमा गरिने साधारण सभालाई नेताहरू बोलाएर भाषण गर्ने थलो बनाउन थालेका छन् । साधारण सभामा एजेण्डामा छलफल गर्ने, योजना बनाउने भन्दा पनि पहुँचका आधारमा नेता बोलाएर तिनै नेताको स्वागत सत्कार गरी भाषण सुनेर समापन गरिन्छ । साधारण सभामा सेयर सदस्यको भूमिका अहम् हुने भएपनि एक तिहाइ सेयर सदस्य पु¥याउन पनि आयोजकलाई हम्मे हम्मे परिरहेको हुन्छ ।

तर, आयोजक संस्थाले सेयर सदस्य भन्दा पनि आफ्ना अतिथिलाई बोलाउने र स्वागत गर्नेमा बढी जोड दिने गरेका छन् । साधारण सभामा सेयरधनीहरूबाट पारित हुनु पर्ने प्रस्तावहरूमा छलफल र निर्णय गरिनुपर्ने भएपछि त्यसमा खासै बहस नै गरिदैन । कुनै प्रस्ताव साधारण सभामा पेश गरिएपनि ति विषयमा छलफल नै नगरी ताली बजाएर पारित गरिदै आएको छ । जसमा सेयर सदस्य कति उपस्थित छन भन्ने ख्याल नै गरिदैन । साधारण सभामा आउँदै हाजिर लगाएर गएको आधारमा सेयर सदस्यको उपस्थिति गणना गर्ने गरिएको छ ।

attariya hospital
navjiwan hospital

जसले गर्दा सहकारीहरुले साधारण सभालाई वर्षमा एक पटक प्रक्रिया पु¥याउने थलोको रुपमा साधारण सभा सम्पन्न गर्न तर्फ केन्द्रित हुने गरेका छन भने ति सभाहरूलाई नेताहरूले आफ्नो भाषण गर्ने थलो बनाइरहेका छन । जसका कारण सहकारीमा सयौँको सङ्ख्यामा सेयर सदस्य हुँदा पनि केही सीमित व्यक्तिले आफू अनुकुल सहकारी हाँकिरहेका छन । यसरी सहकारी सञ्चालन गरिदा न तिनले आफ्नो उद्देश्य ख्याल गरेको देखिन्छ न लक्षित वर्गमुखी काम नै गरेका हुन्छन । वर्षमा धेरै नाफा कमाउने, लाभांश बाड्ने र सहकारीको बलमा आफ्नो पहुँच विस्तार गर्न सहकारीका पदाधिकारी केन्द्रित भएको देखिन्छ ।

मिश्रित आर्थिक प्रणाली अन्तर्गत सरकार, सहकारी र निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहने गर्दछ । संविधानमा राज्यका निर्देशक सिद्धान्त अन्तर्गत सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने उल्लेख छ । अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण मानिएका सहकारी भने सीमित व्यक्तिको लाभका लागि परिचालन हुँदा आर्थिक असमानता झन बढ्ने कारणका रुपमा सहकारी उदाउने खतरा छ ।

त्यसैले यस्ता सहकारीहरुले अन्य अनावश्यक विषयमा अल्झिनु भन्दा पनि सहकारीमा आवद्द शेयर सदस्यको हित र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा केन्द्रित हुन आवश्यक छ । यसरी शेयर सदस्यको हितका विषयमा बहस गर्ने थलो साधारण सभा भएकाले सहकारी सञ्चालकहरूले यस्ता सभामा नेता बोलाएर शेयर सदस्यहरूलाई भाषण सुनाउनु भन्दा पनि शेयर सदस्यको हितमा बहस गर्न तर्फ ध्यान दिऔँ ।