टिकटक बन्द गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाको बाढी नै आइरहेको छ । एकदम सही निर्णय भन्दै नेपाल सरकारलाई धन्यवाद दिनेहरू पनि छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएकोप्रति पिर चिन्ता गर्नेहरू पनि उत्तिकै छन् । कतिलाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो पनि भएको देखिन्छ ।

फेसबुक, इन्स्टाग्राम, एक्स (ट्वीटर) लगायतका अन्य सामाजिक सञ्जाल पनि बिस्तारै बन्द गर्छन् कि भनेर चासो र चिन्ता गर्ने जमात पनि देखिन्छन् । सरकारी निर्णयलाई राम्रो मान्नेहरूले टिकटकले समाजमा पु¥याएको क्षतिलाई बढी औंल्याइरहेका छन् भने नराम्रो भन्नेहरू टिकटकको राम्रो पक्षसहित यसले पु¥याएको योगदानलाई बढी प्रस्तुत गरिरहेका देखिन्छन् ।

जे होस्, टिकटक प्रतिबन्ध लगाउने नेपाल २७ औं देश बन्न पुगेको छ । यीमध्ये अमेरिका, न्यूजिल्याण्ड, डेनमार्क, फ्रान्स, माल्टा, नेदरल्याण्ड, नर्वे, बेलायत, अष्टे«लिया र क्यानडाले सुरक्षा जोखिमलाई कारण बनाएर सरकारी अधिकारीलाई मात्रै प्रयोगमा प्रतिबन्ध लगाएका छन् भने बाँकी देशहरूमा आम रूपमा नै प्रतिबन्ध लगाइएको पाइन्छ ।

नेपाल सरकारले टिकटक मार्फत सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै बन्द गर्ने निर्णय गरेको छ । दिनदिनै छाडा, अश्लिल हुँदै गइरहेको टिकटकलाई प्राविधिक रूपमा नियमन गर्न समस्या भएका कारण नेपाल सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध गरेको हो ।
हाम्रो देशमा अत्यन्तै चर्चित र झण्डै २२ लाखले उपयोग गरिरहेको सार्वजनिक प्लाटफर्म हो– टिकटक । यसमा सामान्यतया व्यक्तिले आफ्नो प्रतिभा, विचार, भोगाइ राख्ने, साना तथा मझौला व्यापारीहरूले आफ्नो वस्तु तथा सेवाको प्रचार प्रसार गर्ने, ठूला व्यवसायीहरूले पनि ‘इन्फ्ल्युन्सर मार्केटिङ’ अन्तर्गत टिकटक सेलिब्रेटीहरूलाई लिएर भिडियो कन्टेन्टमार्फत व्यवसायको प्रवर्द्धन पनि गरिरहेका थिए ।
पैसाको लगानीबिना ठूलै जमातलाई सुसूचित गर्न, एकै छिनमा भाइरल गराउन÷गर्न सक्ने टिकटक हामी माझ धेरै नै लोकप्रिय सञ्जाल बनेको छ । फेसबुकमा जस्तो पैसा तिरेर ‘पेड प्रमोसन’ गर्न सक्ने सुविधा नेपाललाई नदिए पनि यो आफैंमा सजिलै, छिट्टै धेरै ठूलो जमातमा पुग्न सक्थ्यो । यसबाट सूचना, विचार र भरपूर मनोरञ्जन प्रवाह हुँदै आएको थियो भने सर्वसाधारणको सहज पहुँचमा भएको हुनाले ठूलो जनसंख्याले प्रयोग गरिरहेका थिए ।
तर त्यसका वाबजुद टिकटकमा धेरै समस्या छन । मनलाग्दी आक्षेप लगाउने, अश्लील सामग्री शेयर गर्ने, अरुलाई घृणा व्यक्त गर्ने, समुदायमाथि नै हिलो छ्याप्ने, नितान्त व्यक्तिगत वा पारिवारिक कुरालाई सार्वजनिक गरिदिने, गलत सूचनाहरू दिने, वेला न कुवेला, ठाउँ न कुठाउँ जता पनि भिडियो बनाउने, घण्टौं समय यसैलाई दिएर बर्बाद हुने लगायतका कुराहरुले गर्दा पछिल्लो समय टिकटकले समस्या निम्त्याईरहेको छ । नेपालमा पछिल्लो चार वर्षमा टिकटकसँग सम्बन्धित सयौं साइबर अपराधसम्बन्धी मुद्दाहरू दर्ता भएका छन् ।
सामाजिक सञ्जाल सूचना प्रविधिमा आधारित माध्यम (प्लेटफर्म) आफैंमा राम्रो÷नराम्रो भन्ने हुँदैन । तर पनि यसलाई प्रयोग गर्ने तौरतरिका र उद्देश्य राम्रो भएन भने हाम्रो सामाजिक, धार्मिक सद्भावलाई नराम्ररी हल्लाइदिन्छ । तसर्थ टिकटक मात्रै नभई नागरिकले प्रयोग गर्ने सम्पुर्ण प्रविधिलाई नियमन गर्न जरुरी छ । सरकारले प्रविधिहरुमाथी नियमनको बाटो अपनाउन पनि आवश्यक छ ।