खाेज्नुहाेस

धौलीगङ्गा परियोजनाको बाँध खोलिँदै

Image

दार्चुला –भारतको पिथौरागढ जिल्लास्थित धारचुला तहसिल अन्तर्गत रहेको धौलीगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसन नेपाली प्रशासनलाई पत्राचार गर्दै असार १२ गते शुक्रबार बिहान ६ बजेदेखि शनिबार बेलुकी ५ बजेसम्म ३५ घण्टा बाँध खोल्ने सूचना बुधबार पठाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए । भारतीय प्रशासनले परियोजनाको सिल्ट सफाइको कार्य गर्न बाँधको ढोका खोलिने तथा महाकाली नदीमा जलस्तर बढ्नसक्ने भन्दै सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेको उनले बताए ।

navjiwan hospital

भारतीय पक्षबाट प्राप्त सूचनाका आधारमा बनाएर जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको उनले बताए । भारतले वर्षातको समयमा सफाइ गर्ने भन्दै बेला–बेला बाँधका ढोका खोल्दैआएको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो । २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गा बाँध छिरकिल्लामा पर्दछ । धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातका बेला हरेक वर्ष खोलिने गरिन्छ ।

attariya hospital

परियोजनाको बाँध खोल्नुपूर्व भारतीय पक्षले नेपाली पक्षलाई सतर्कताका लागि जानकारी गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए । दार्चुलामा व्यास गाउँपालिका–५, धौलाकोटदेखि लेकम गाउँपालिका–३, लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचित गराएको छ ।