धनगढी– कैलालीको गौरीफन्टा नाकाबाट दुई जनाको उद्धार गरिएको छ । एसएसबी चेकपोष्टबाट बिहिबार दुई जनाको उद्धार गरिएको हो ।

उद्धार गरिएकामा१७ वर्षीय सुरेन्द्र पार्की र १२ वर्षीया किशोरी रहेका छन् । सुरेन्द्र पार्कीको स्थायी ठेगाना डोटीको केआईसिंह–३ ढकारी गाउँ रहेको र १२ वर्षीया किशोरीको ठेगाना बाजुराको त्रिवेणी नगरपालिका रहेको जनाइएको छ ।

एएचटियु टोलीले दुवै जनालाई गौरीफंटा चेकपोस्टमा रोकेको हो । प्रारम्भिक जानकारी अनुसार उनीहरू भारतको दिल्लीबाट नेपालतर्फ फर्किँदै थिए । किशोरीको सम्पूर्ण परिवार दिल्लीमै बसोबास गर्दै आएको बताइएको छ ।
चेकजाँच तथा सोधपुछका क्रममा दुवै जनाले सन्तोषजनक र स्पष्ट जवाफ दिन नसकेपछि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् । हाल दुवै जनालाई गौरीफंटा चेकपोस्टमै राखी थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


















