धनगढी– सुदूरपश्चिम विश्वविद्यालयले छैटौँ दीक्षान्त समारोह आयोजना गरेको छ । शुक्रबार कञ्चनपुरको महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा विश्वविद्यालयले छैटौँ दीक्षान्त समारोह सम्पन्न गरेको हो । समारोहमार्फत शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान तथा प्रविधि गरी ६ वटा संकायका २ हजार ४८९ जना स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी तहका विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।
दीक्षान्तका लागि ठुलो संख्यामा विद्यार्थी योग्य भए पनि समारोहमा ७६७ जना विद्यार्थी मात्र भौतिक रूपमा सहभागी भएका थिए । विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाका अनुसार शिक्षा संकायबाट २४२, व्यवस्थापनबाट २३९, मानविकीबाट १८२, इन्जिनियरिङबाट ५३, कृषि विज्ञानबाट ३३ तथा विज्ञान तथा प्रविधिबाट १८ जना विद्यार्थी समारोहमा प्रत्यक्ष सहभागी भएका थिए । समारोहमा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण तथा डिन पदक प्रदान गरिएको छ ।


यस वर्ष ललित कार्की, दुर्गा देवी, निशान्त चन्द, प्रेमबहादुर रोकाया, दिवाकर पन्त, भरत साउँद, कविता जोशी, रजिन बोहरा र कैलाशराज भट्ट स्वर्ण पदकबाट सम्मानित भएका छन् । त्यस्तै, मथुराप्रसाद उपाध्याय, कैलाशराज भट्ट, आयुसा जोशी र भरत साउँदले डिन पदक प्राप्त गरेका छन् ।
व्यवस्थापन संकायका निशान्त चन्दलाई प्रदान गरिने भनिएको चान्सलर पदक भने उच्च अदालतमा परेको रिटका कारण वितरण गरिएन । छात्रा रेखा भट्टले पदक छनोट प्रक्रियामा असहमति जनाउँदै रिट दायर गरेपछि चान्सलर पदक वितरण स्थगित गरिएको हो । कृषि विज्ञान संकायका कैलाशराज भट्टलाई प्रदान गरिने भनिएको भाइस चान्सलर पदकसम्बन्धी विषयमा पनि विश्वविद्यालयले आवश्यक प्रक्रिया अगाडि बढाउने जनाएको छ ।
यस वर्षको दीक्षान्त समारोहको अर्को विशेष आकर्षण डा.तुलसीकुमारी शर्मा रहिन् । उनी सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने पहिलो महिला बनेकी छन् । विश्वविद्यालयका सहकुलपति तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । जसमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, पूर्वमन्त्री तथा शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
विश्वविद्यालयका निर्देशक हरिश भट्टले दीक्षान्त समारोह विद्यार्थीहरूको उत्सव भएकाले अभिभावकसहित उत्साहजनक रूपमा मनाइएको बताए । कार्यक्रममा संस्कृतविद् तथा साहित्यकार प्राडा.तुलसीप्रसाद जोशी प्रमुख अतिथिका रूपमा सहभागी भए ।

















