हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशैं सुरु भईसकेको छ । दशैँलाई हिन्दुधर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्वका रुपमा लिईन्छ । घटस्थापनाको दिन जमरा राखेर सुरु हुने वडादशैलाई हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गर्दछन । हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) दशै मनाउने गर्छन् ।
दशैमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।


विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ । यसलाई असत्य माथी सत्यको विजयको रुपमा लिईन्छ । दशैमा आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।
दशैँको आफ्नै मौलिक परम्परा छ । परम्परागत रुपमा हेर्ने हो भने दशैँलाई असत्य माथी सत्यको विजय भएको पर्वका रुपमा मानिसहरुले लिने गर्दथे । त्यो दिन आफ्नो गछ्य अनुसारको खानेकुराहरु पकाएर सबै परिवारहरु एककृत भएर रमाईलो गरेर दशैँ मनाईन्थ्यो । त्यस्तै ठूलाबडाका हातबाट टिका थाप्ने र आशिर्वाद लिने पनि त्यसबाट चलन थियो । त्यतिबेला दशैँको चहलपहलले गाउँघरहरु रंगिएका हुन्थे । तर पछिल्लो समय दशैँलाई फेसनको रुपमा हेर्न थालिएको छ । अर्काको देखासिकिमा राखेर दशैँलाई दशा बनाउने काम भैरहेको छ । आफ्नो क्षमता भन्दा बढी देखावटी गर्ने कोशिस गर्दा कतिपय मानिसहरुले त्यसको प्रतिफल कालान्तर सम्म भोग्नुपर्ने अवस्था पनि आउँछ । दशैँमा ठुलाबडाबाट आर्शिवाद लिनका लागि टिका लगाउने भन्दा पनि दक्षिणा लिनका लागि टिका लगाउने चलन बढेको छ । जसका कारण विगतको दशँैको रौनक हराउदै गएको छ ।
दशैँ हिन्दुधर्मावलम्बीहरुको महान पर्व हो । यो पर्वले आपसी एकता र भाईचाराको सन्देश दिन्छ । यसले ठूलाबडालाई सम्मान गर्न सिकाउँछ । त्यसैले दशैँमा अर्काको देखासिकीमा लागेर फजुल खर्च पनि गर्नुहुदैन । दशैँले दिने सन्देशलाई मनन् गर्दै आफ्नो दक्षताले भ्याए सम्मको खर्च गरौँ । मनमा सन्तोष र अनुहारमा खुसी झल्कने किसिमले पनि दशै मनाउन सकिन्छ । त्यसैले दशैमा जथाभावी खर्च गर्ने काम नगरी आफ्नो गछ्य अनुसारको दशै मनाऔ । दशैँले कसैको पनि दशा आउने स्थिति नबनोस् ।
















