कैलालीको अत्तरियामा रहेको शिव मन्दिर जीर्ण बन्दै गएको छ । उचित मर्मत सम्भार र संरक्षण नगरिँदा मन्दिर जीर्ण बन्न थालेको हो । मन्दिरमा तिज, गौरा लगायतका पर्वहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । तर, मन्दिर व्यवस्थापन समितिको बेवास्ताका कारण मन्दिर दुर्गन्धित समेत बन्दै गएको छ ।

मन्दिरको गेटमै फोहोरको डङ्गुर फालिएको छ । तिन दशक पहिले स्थापना भएको उक्त मन्दिरको जमिन समेत हाल अतिक्रमणमा परेको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको उत्तर पट्टिको क्षेत्रमा सटर निर्माण गरेर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएको छ । तर, ति सटरहरुबाट नियमित भाडा भने उठाउने गरिएको छैन । मन्दिरको जग्गामा निर्मित ति सटरहरुमा मदिराको समेत कारोबार हुने गरेको छ ।

धार्मिक मात्रै नभएर पर्यटकीय सम्भावना समेत बोकेको उक्त मन्दिर संरक्षण गर्न न त मन्दिर व्यवस्थापन समितिले चासो दिएको छ भने न स्थानीय सरकारले नै मन्दिरको संरक्षण गर्न सकेको छ । यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र र पर्यटकीय क्षेत्र बन्न सक्ने मन्दिरलाई स्तरोन्नति गर्न आवश्यक छ । जसले गर्दा यस क्षेत्रको विकासमा समेत टेवा पुग्न सक्छ । मन्दिरको सरसफाइमा पनि व्यवस्थापन समितिले ध्यान दिन आवश्यक छ ।

स्थानीय निकायले पनि अत्तरिया बजार नजिकै रहेको मन्दिरको संरक्षणका लागि कुनै काम गरेको देखिदैन । त्यसले मन्दिरको स्तरोन्नति, सरक्षण र सरसफाइमा नगरपालिकाले पनि चासो देखाएर काम गर्न आवश्यक छ । जसले गोदावरीको धार्मिक संगै पर्यटकीय विकासमा पनि टेवा पुग्ने छ ।