कैलालीको अत्तरियामा तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने विषादी अवशेष दु्रत विश्लेषण इकाई कार्यालय करिब डेढा महिना देखि बन्द रहेको छ । कार्यालयमा तरकारी तथा फलफूलमा भएको विषादीको मात्रा परीक्षण गर्ने किट उपलब्ध नभएपछि कार्यालय बन्द भएको थियो । अत्तरियाको कृषि उपज थोक बजार भित्र रहेको उक्त कार्यालयले यसअघि दैनिक ५ देखि १० वटा तरकारी तथा फलफूलका नमूना परीक्षण गर्दै आएकोमा परीक्षण किट सकिएपछि काम रोकिएको छ ।

हाल किट र कर्मचारी अभावका कारण क्वारेण्टिन कार्यालय गड्डाचौकी र टुरमुकाम धनगढीको कार्यालयमा पनि विषादी परीक्षण रोकिएको छ । यी कार्यालयहरूमा कार्यरत स्थायी कर्मचारी विदेश तालिममा गएका छन भने करारका कर्मचारीको नियुक्ति थप गरिएको छैन् । जसका कारण हाल भारतबाट तरकारी फलफूलको आयात पनि यि नाकाबाट हुन सकेको छैन ।

अत्तरियामा नेपालमै उत्पादित तरकारी फलफूलमा विषादीको परीक्षण गरिदै आएको थियो । अत्तरियामा विषादी अवशेष दु्रत विश्लेषण इकाइले परीक्षण गर्दा छ्यापछ्याप्ती विषादी युक्त तरकारी तथा फलफूल भेटिने गरेका भएपनि हाल उक्त कार्यालयको सेवा नै बन्द हुँदा विषादीयुक्त तरकारी उपभोक्ता सम्म पुग्ने जोखिम बढेको छ ।
त्यसैले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा राज्यले लापरवाही नगरी तत्काल विषादी परिक्षण गर्ने कार्यालयहरुलाई आवश्यक पुर्वाधार र जनशक्तीको व्यवस्थापन गरी काम सुचारु गर्न आवश्यक छ ।














